पर्सागढी नगरपालिकाले नगरभित्रका महिलाहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै निःशुल्क स्त्रीरोग तथा पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) सम्बन्धी परीक्षण शिविर सञ्चालन गरेको छ ।
नगरपालिकाले जारी गरेको सूचनाअनुसार महिलामा देखिने विभिन्न स्त्रीरोग तथा पाठेघरसम्बन्धी समस्याको समयमै पहिचान, उपचार तथा भविष्यमा हुन सक्ने क्यान्सरको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको हो ।
शिविरअन्तर्गत आज पर्सागढी नगरपालिका–३ स्थित वडा कार्यालय तथा बागवाना स्वास्थ्य चौकीमा सञ्चालन गरिएको छुट्टाछुट्टै कार्यक्रममा २०० भन्दा बढी व्यक्तिको छातीको एक्स–रे तथा खकार परीक्षण गरिएको थियो। परीक्षणका क्रममा आठ जनामा क्षयरोगको सङ्क्रमण पुष्टि भएको स्वास्थ्यकर्मीहरूले जनाएका छन् ।
त्यस्तै, ९० जना महिलाको पाठेघर परीक्षण गर्दा दुई जनामा पाठेघरको सम्भावित क्यान्सरको सङ्केत देखिएको बताइएको छ। उनीहरूलाई थप उपचार तथा परामर्शका लागि सम्बन्धित स्वास्थ्य संस्थामा पठाइएको छ । निःशुल्क स्वास्थ्य शिविरमा डा. अभिषेक चौधरी र डा. अभिनय सिंहको नेतृत्वमा पर्सागढी नगरपालिकाका स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूले सहयोग गरेका थिए ।
पर्सागढी स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद पौडेलका अनुसार शिविरको दोस्रो दिन अाज मंगलबार बिहान बिरुवागुठी स्वास्थ्य चौकी र दिउँसो हरपुर स्वास्थ्य चौकीमा सञ्चालन हुनेछ । त्यसैगरी बुधबार बिहान पञ्चरुखी स्वास्थ्य चौकी तथा दिउँसो बागेश्वरी स्वास्थ्य केन्द्रमा शिविर सञ्चालन गरिनेछ ।
नगरपालिकाले तोकिएको मिति, समय र स्थानमा उपस्थित भई निःशुल्क स्वास्थ्य परीक्षण गराउन सम्बन्धित क्षेत्रका नागरिकलाई आग्रह गरेको छ । विशेषगरी लामो समयदेखि सेतो पानी बग्ने, तल्लो पेट दुख्ने तथा पाठेघरसम्बन्धी समस्या भएका र १५ देखि ४९ वर्ष उमेर समूहका महिलालाई परीक्षण गराउन अनुरोध गरिएको छ ।
नगरप्रमुख गोकर्ण पाठकले महिलाहरूलाई स्वास्थ्यप्रति सचेत रहन र यस्ता निःशुल्क स्वास्थ्य शिविरको अधिकतम उपयोग गर्न आग्रह गरेका छन् । यस कार्यक्रमले ग्रामीण तथा शहरी क्षेत्रका महिलाहरूको स्वास्थ्य अवस्थामा सुधार ल्याउने अपेक्षा गरिएको छ ।