नेपाल र भारतबीच पछिल्लो समय देखिएको गैरभन्सार अवरोधको प्रत्यक्ष असर पूर्वी नेपालको प्रमुख नगदेबाली तथा निर्यातमुखी क्षेत्र चिया उद्योगमा परेको छ ।
भारतीय पक्षले लागू गरेको नयाँ गुणस्तर परीक्षण प्रक्रियाका कारण चिया निर्यात प्रभावित हुँदा उद्योगी, किसान तथा श्रमिकहरू समस्यामा परेका छन् । उद्योगीहरूका अनुसार भारतले नेपाली चियाको गुणस्तर परीक्षणका नाममा निर्यात प्रक्रिया जटिल बनाएपछि चियाको ढुवानी प्रभावित भएको छ। चिया बोकेका सवारीसाधनहरू भारतीय नाकामा लामो समयसम्म रोकिँदा उद्योगको उत्पादन र बजार व्यवस्थापनमा समस्या उत्पन्न भएको बताइएको छ।
नेपालले केही समयअघि भारतबाट आयात हुने केरा तथा अन्य फलफूलमा प्राविधिक कारण देखाउँदै कडाइ गरेपछि दुई देशबीच व्यापारिक तनाव बढेको थियो । उद्योगीहरूको दाबीअनुसार त्यसैको प्रभावस्वरूप भारतीय पक्षले नेपाली चियामाथि गैरभन्सार अवरोध खडा गरेको हो । नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीका अनुसार चिया क्षेत्रमा जमिनको मूल्यबाहेक ७० अर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ । चिया खेती, प्रशोधन, प्याकेजिङ, भण्डारण तथा निर्यातसँग सम्बन्धित पूर्वाधारमा गरिएको उक्त लगानी अहिले जोखिममा परेको उनले बताए ।
चिया उद्योगले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा एक लाखभन्दा बढी व्यक्तिलाई रोजगारी प्रदान गर्दै आएको छ । बगानका श्रमिकदेखि प्रशोधन उद्योगका प्राविधिक तथा ढुवानी क्षेत्रमा संलग्न श्रमिकसम्मको जीविकोपार्जन यसै क्षेत्रमा निर्भर रहेको उद्योगीहरूको भनाइ छ । उद्योगीहरूका अनुसार भारतले वैशाख १८ गतेदेखि नेपाली चियाको गुणस्तर परीक्षणसम्बन्धी नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) लागू गरेपछि निर्यात प्रक्रिया प्रभावित भएको हो। प्रारम्भिक चरणमा प्रत्येक ढुवानीको प्रयोगशाला परीक्षण अनिवार्य गरिएपछि निर्यात करिब तीन सातासम्म प्रभावित भएको थियो। नेपाली पक्षको विरोधपछि भारतीय निकायले ‘र्यान्डम स्याम्पलिङ’ प्रणाली अपनाउने जनाएको भए पनि प्रक्रिया अझै सहज हुन सकेको छैन ।


परीक्षण रिपोर्ट आउन ढिलाइ हुँदा उद्योगहरूको गोदाममा ठूलो परिमाणमा तयारी चिया थन्किएको छ । सूर्योदय टी प्रोडक्ट एसोसिएसनका महासचिव गोपाल कट्टेलका अनुसार इलाम र झापाका करिब १०० उद्योगले दैनिक औसत पाँच लाख किलो हरियो चिया पत्ती प्रशोधन गर्दै आएका थिए। निर्यातमा समस्या आएपछि किसानले उत्पादन गरेको हरियो चिया पत्ती बिक्री गर्न कठिनाइ भइरहेको छ ।
उद्योगीहरूको तथ्यांकअनुसार इलामका ६५ वटा अर्थोडक्स चिया उद्योग र झापाका ३० वटा सीटीसी उद्योगसहित ९५ भन्दा बढी उद्योगको उत्पादन प्रभावित भएको छ। हाल उद्योगहरूमा करिब १२ लाख किलो तयारी चिया मौज्दात रहेको बताइएको छ। नेपालमा चिया खेतीको इतिहास करिब १५० वर्ष पुरानो मानिन्छ। इलाम र झापाबाट सुरु भएको चिया खेती अहिले इलाम, झापा, पाँचथर, धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुरसम्म विस्तार भएको छ। चिया तथा कफी विकास बोर्डका अनुसार नेपालमा ३० हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा चिया खेती भइरहेको छ ।
पूर्वी नेपालको कृषि अर्थतन्त्रमा चिया क्षेत्रको महत्वपूर्ण योगदान रहेको छ। करिब ३० हजार किसान परिवारको आयआर्जन यसै क्षेत्रमा निर्भर रहेको बताइन्छ। नेपाली चियाको ठूलो हिस्सा भारतीय बजारमा निर्यात हुने भएकाले हालको अवरोधले उद्योगको भविष्यप्रति गम्भीर चिन्ता थपिएको उद्योगीहरूको भनाइ छ ।
उद्योगी तथा किसान संगठनहरूले समस्या समाधानका लागि नेपाल र भारतबीच कूटनीतिक तथा प्राविधिक तहमा तत्काल छलफल गरी निकास खोज्नुपर्ने आवश्यकता औँल्याएका छन् । उनीहरूले निर्यात बजारको विविधीकरण गर्न नसक्दा भारतीय बजारमा अत्यधिक निर्भरता बढेको र त्यसैको फाइदा उठाउँदै गैरभन्सार अवरोध सिर्जना गरिएको बताएका छन् ।