बारा । बाराको जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको अध्यक्षमा युवा उद्यमी गजेन्द्रकुमार गुप्ता निर्वाचित भएका छन् ।
संघको नयाँ नेतृत्व चयनका लागि आइतबार सम्पन्न निर्वाचनको मतगणना सोमबार बिहान सकिएपछि सार्वजनिक अन्तिम परिणामअनुसार गुप्ताले प्रतिस्पर्धी उम्मेदवार मनोजकुमार गुप्तालाई फराकिलो मतान्तरले पराजित गर्दै अध्यक्ष पदमा विजय हासिल गरेका हुन् ।
निर्वाचित अध्यक्ष गजेन्द्रकुमार गुप्ताले ५२९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी मनोजकुमार गुप्ताले १९९ मत प्राप्त गरेका छन् । त्यसैगरी वरिष्ठ उपाध्यक्ष पदमा शिवजी साह सोनार ५०२ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी सन्तोष कुमारले १९५ मत प्राप्त गरेका छन् ।
वाणिज्यतर्फको उपाध्यक्ष पदमा रामबाबु कलवार ५३१ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी प्रमोद साहले १११ मत प्राप्त गरेका छन् । महासचिव पदमा प्रकाश गिरि ५१२ मतसहित निर्वाचित भएका छन् भने उनका प्रतिद्वन्द्वी सुशील शर्माले १८८ मत प्राप्त गरेका छन् ।
त्यस्तै, कोषाध्यक्ष पदमा रीना रौनियार ४१२ मतसहित निर्वाचित भएकी छन्। वाणिज्यतर्फको सचिव पदमा पनि उनी निर्वाचित भएकी हुन् ।
वाणिज्यतर्फको सदस्य पदमा अमरेन्द्र कलवार, नवरत्न कलवार, बलराम पौडेल, विभा गुप्ता, विजय गुप्ता, मनोहरबाबु गुप्ता, मुकुन्द रिजाल, रूपनारायण गुप्ता तथा श्रीराम साह कानु निर्वाचित भएका छन् ।
नवनिर्वाचित नेतृत्वले उद्योगी–व्यवसायीको हकहित संरक्षण, व्यावसायिक वातावरण सुधार तथा स्थानीय आर्थिक गतिविधिलाई थप सशक्त बनाउने प्रतिबद्धता जनाएको छ ।