असार लागेसँगै देशभर धान रोपाइँको चटारो सुरु भएको छ । तर, मधेस प्रदेशका किसानहरू भने धान रोप्ने मुख्य समयमा रासायनिक मल र सिँचाइको अभाव झेल्न बाध्य भएका छन् ।
सिँचाइ सुविधा नपुगेका अधिकांश क्षेत्रमा किसानहरू आकाशे पानीको भरमा धान रोपाइँ गर्दै आएका छन् । पर्याप्त वर्षा नहुँदा खेतमा आवश्यक पानीको अभाव भएको छ भने समयमै रासायनिक मल उपलब्ध नहुँदा किसान थप चिन्तित बनेका छन् । कतिपय क्षेत्रमा सिँचाइ सुविधा भए पनि अधिकांश स्थानमा सिँचाइ प्रणाली कमजोर रहेकाले किसानहरू वर्षाको प्रतीक्षामा बस्न बाध्य छन् ।
मधेस प्रदेशका धनुषा, महोत्तरी, सिराहा, सप्तरी, बारा र रौतहट जिल्लामा सबैभन्दा बढी धान खेती हुने गर्दछ । यस वर्ष बदलिँदो मौसम र अनियमित वर्षाले किसानको चिन्ता झनै बढाएको छ । जनकपुरधाम उपमहानगरपालिका–२० का किसान विजयप्रसाद राउतले चार बिघा खेतमा धान खेती गर्दै आएका छन् । उनले केही खेतमा रोपाइँ गरे पनि आवश्यक मल नपाएको गुनासो गरे । उनले भने, “रोपाइँ त गरियो, तर मल कहाँबाट ल्याउने ? डिपोमा जाँदा मल छैन भनेर फर्काइदिन्छन् ।”
जनकपुरधाम उपमहानगरपालिका–२४ का बद्री साहले अरूको बोरिङबाट पानी ल्याएर धान रोपाइँ गरे पनि मल नपाएको बताए । समयमा पानी र मल नपाउँदा उत्पादनमा असर पर्ने चिन्ता रहेको उनको भनाइ छ । जलेश्वर उपमहानगरपालिका–१० का राघव ठाकुरले पनि मल र सिँचाइको अभावका कारण खेती गर्न कठिन भएको बताए । बलवा नगरपालिका–७ का सीताशरण पण्डितले चुनावका बेला गरिएका प्रतिबद्धता कार्यान्वयन नभएको गुनासो गरे।उनले भने, “भोट माग्ने बेला मल, बोरिङ र सिँचाइको व्यवस्था गर्ने वाचा गरिन्छ, तर अहिले समस्या पर्दा कोही पनि देखिँदैनन् ।”
मधेस प्रदेशका अधिकांश जिल्लाका किसानहरूले यस्तै समस्या भोगिरहेका छन् । यता, मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले बर्खे धान खेतीलाई लक्षित गर्दै ७ हजार ३२८ मेट्रिक टन युरिया र ६ हजार ६१० मेट्रिक टन डीएपी मल प्रदेशका १३६ वटै स्थानीय तहमा पठाइसकेको जनाएको छ । मन्त्रालयका अनुसार कृषि सामग्री कम्पनी लिमिटेडबाट प्राप्त युरिया र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडबाट प्राप्त डीएपी मल स्थानीय तहमा पठाइए पनि अधिकांश स्थानमा डिपो र किसानसम्म पुग्न सकेको छैन ।
जनकपुरधाम उपमहानगरपालिका–२३ का डिपो सञ्चालक कैलाश साहले स्थानीय तहबाट आवश्यक पत्राचार नआएकाले मल वितरणमा समस्या भएको बताए । उनका अनुसार पुरानो मौज्दातमा रहेको सीमित मल वितरण भइरहे पनि त्यसले माग धान्न सकेको छैन । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका मल व्यवस्थापनसम्बन्धी अधिकारी रवि बस्नेतले विभिन्न पालिकाबाट मल डिपोसम्म नपुगेको गुनासो आएको स्वीकार गर्दै समन्वयमार्फत छिट्टै किसानसम्म मल पुर्याउने प्रयास भइरहेको बताए ।
मधेसमा धेरै किसानले बटैयामा जग्गा लिएर खेती गर्दै आएका छन्। धनुषाको माछी झिटकैयाका रघुवीर यादवले उत्पादनको आधा हिस्सा जग्गाधनीलाई दिनुपर्ने भए पनि मल र सिँचाइ अभावले लागत बढ्ने र उत्पादन घट्ने हुँदा बटैया किसान सबैभन्दा बढी मारमा परेको बताए । सर्लाहीको सलमपुरका गगनदेव झाले कतै पानीको अभाव, कतै बिउको समस्या, कतै मजदुर अभाव र कतै मलको समस्या रहेको बताउँदै अधिकांश बोरिङ र ट्युबवेल बिग्रिएको अवस्थामा किसानहरू अझै आकाशे पानीकै भरमा खेती गर्न बाध्य रहेको गुनासो गरे ।
किसानहरूले धान रोपाइँको मुख्य समयमा पर्याप्त मल, सिँचाइ र कृषि सामग्री उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।