चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत उपसभापति पदमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित हुनुभएको छ । उक्त पदका लागि वाग्लेको मात्रै उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो ।
उपसभापति पदमा दाबी प्रस्तुत गर्नुभएका नेता विराजभक्त श्रेष्ठले आफ्नो उम्मेदवारी फिर्ता लिएर वाग्लेलाई समर्थन गर्नुभएको थियो । यता, महिला उपसभापति पदका लागि भने निर्वाचन हुने भएको छ । एक पदका लागि इन्दिरा रानामगर, सोविता गौतम, समीक्षा बाँस्कोटा, लिमा अधिकारी र डा. तोसिमा कार्कीले उम्मेदवारी दर्ता गराएका छन् ।
महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भइसके पनि पदाधिकारी पदका उम्मेदवारको प्रारम्भिक नामावली भने अझै सार्वजनिक हुन सकेको छैन । दोस्रो चरणको निर्वाचन कार्यतालिका अनुसार बिहान १ बजे प्रारम्भिक नामावली प्रकाशन गर्ने कार्यक्रम रहे पनि सहमतिका प्रयास जारी रहेकाले प्रक्रिया ढिलिएको हो ।
प्रारम्भिक नामावली सार्वजनिक भएपछि दाबी–विरोधको प्रक्रिया पूरा गरी अन्तिम नामावली प्रकाशन गरिनेछ । त्यसपछि विद्युतीय मतदान प्रणालीमा उम्मेदवारहरूको नाम प्रविष्ट गराई मतदान प्रक्रिया सुरु गरिने निर्वाचन समितिले जनाएको छ ।
उपसभापति पदमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएसँगै अब महिला उपसभापति, एक खुला महामन्त्री, दुई खुला सहमहामन्त्री तथा एक महिला सहमहामन्त्री पदका लागि निर्वाचन हुनेछ ।
महामन्त्री पदका लागि शिशिर खनालले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ । उक्त पदका लागि मनीष झा, विपिन आचार्य, कबिन्द्र बुर्लाकोटी, रञ्जु दर्शना, गणेश पराजुली, सागर ढकाल, गणेश कार्की र प्रमोद न्यौपाने आकांक्षी रहेका छन् । पदाधिकारीमा सहमतिको प्रयास जारी रहेकाले निर्वाचन प्रक्रिया केही ढिलो भएको जनाइएको छ ।