मधेस प्रदेशमा क्षमताभन्दा बढी भार बोकेर सञ्चालन हुने मालवाहक सवारीसाधनमाथि ट्राफिक प्रहरीले चालु आर्थिक वर्षभरि विशेष निगरानी तथा कारबाही अभियान सञ्चालन गरेको छ ।
अभियानअन्तर्गत असार १ गतेसम्म ७३७ वटा सवारीसाधन कारबाहीमा परेका छन् भने तीबाट कुल १ करोड ३१ लाख ५८ हजार ४५८ रुपैयाँ राजस्व संकलन भएको छ । नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, मधेस प्रदेशका अनुसार पथलैयास्थित प्रादेशिक कार्यालयसहित बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सिरहाका ट्राफिक इकाइले संयुक्त रूपमा ओभरलोड सवारीसाधनको निगरानी र कारबाहीलाई तीव्र बनाएका हुन्। यस अवधिमा सप्तरीमा भने ओभरलोडका कारण कुनै पनि सवारीसाधन कारबाहीमा परेको अभिलेख छैन।
कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार सबैभन्दा बढी कारबाही पर्सा जिल्लामा भएको छ। पर्सामा ३९४ वटा सवारीसाधन कारबाहीमा पर्दा ५६ लाख २३ हजार ८२८ रुपैयाँ जरिवाना असुल गरिएको छ । त्यसैगरी, महोत्तरीमा ३० वटा सवारीसाधनबाट ७ लाख ८६ हजार ९८ रुपैयाँ, सर्लाहीमा २५ वटा सवारीसाधनबाट ५ लाख ९६ हजार ८१७ रुपैयाँ तथा धनुषामा १८ वटा सवारीसाधनबाट ३ लाख ६४ हजार ३९३ रुपैयाँ जरिवाना संकलन गरिएको छ ।
यस्तै, रौतहटमा १२ वटा सवारीसाधनबाट २ लाख ३९ हजार २२५ रुपैयाँ, बारामा सात वटा सवारीसाधनबाट ८२ हजार ६२९ रुपैयाँ तथा सिरहामा एउटा सवारीसाधनबाट ६ हजार रुपैयाँ जरिवाना असुल गरिएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय, पथलैयाका ट्राफिक प्रहरी उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार ओभरलोडको स्तरका आधारमा कारबाहीको प्रकृति निर्धारण गरिन्छ । सामान्य उल्लंघन गर्ने सवारीसाधनलाई ट्राफिक कार्यालयबाटै जरिवाना गरिने भए पनि अत्यधिक भार बोकेका सवारीलाई थप कानुनी प्रक्रिया पूरा गर्न यातायात व्यवस्था कार्यालय पठाइन्छ।उनले क्षमताभन्दा बढी लोड गरिएको सामान अनलोड नगरेसम्म कुनै पनि सवारीसाधनलाई यात्रा जारी राख्न अनुमति नदिने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गरिएको बताए ।
ट्राफिक प्रहरीका अनुसार ओभरलोड नियन्त्रण अभियानको मुख्य उद्देश्य सडकको आयु संरक्षण गर्नु, सवारी दुर्घटनाको जोखिम न्यूनीकरण गर्नु तथा सुरक्षित र व्यवस्थित यातायात प्रणाली कायम गर्नु हो ।