संवैधानिक परिषद्ले निर्वाचन आयोगको रिक्त प्रमुख निर्वाचन आयुक्त तथा दुई निर्वाचन आयुक्त पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।
शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको परिषद् बैठकले मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गर्ने निर्णय गरेको हो । त्यस्तै, निर्वाचन आयोगका रिक्त आयुक्त पदमा गुरुप्रसाद वाग्ले र राजीव सुव्वालाई सिफारिस गर्ने निर्णय पनि परिषद्ले गरेको छ ।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रस्तावित व्यक्तिहरूमाथि पर्याप्त छलफल नगरी सिधै सिफारिस गरिएको भन्दै आपत्ति जनाएका थिए । उनले आगामी दिनमा प्रस्तावित व्यक्तिहरूबारे पर्याप्त छलफल गरेपछि मात्रै सिफारिस प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।
साथै, आङ्देम्बेले प्रतिपक्षी दलसँग रहेको संवादहीनताको अवस्था अन्त्य गर्दै नियमित रूपमा छलफल र सहकार्यलाई निरन्तरता दिन पनि प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।