मधेस प्रदेशका अधिकांश किसान पर्याप्त वर्षाको प्रतीक्षामा रहेका बेला धनुषा र सिरहामा कमला सिँचाइ नहरबाट पानी पुगेका क्षेत्रका किसान भने धमाधम धान रोपाइँमा जुटेका छन् ।
धनुषाको पोर्ताहास्थित कमला सिँचाइ व्यवस्थापन कार्यालयले नहरमा समयमै पानी प्रवाह गरेपछि नहर प्रणालीबाट सिँचाइ सुविधा पुगेका क्षेत्रका किसानलाई धान रोप्न सहज भएको हो । कमला सिँचाइ व्यवस्थापन कार्यालयले असार १३ गतेदेखि धनुषातर्फको पश्चिमी नहर र सिरहातर्फको पूर्वी नहरमा सिँचाइका लागि पानी छाडेको छ । कार्यालय प्रमुख रणधीरकुमार साहका अनुसार विगतमा साउन १ गतेदेखि मात्र नहर सञ्चालन गर्ने गरिएको भए पनि यस वर्ष किसानको आवश्यकतालाई ध्यानमा राख्दै समयअगावै पानी प्रवाह गरिएको हो ।
उहाँका अनुसार धनुषाको पश्चिमी नहरबाट १२ हजार ५ सय हेक्टर र सिरहाको पूर्वी नहरबाट १२ हजार ५ सय हेक्टर गरी २५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ । पछिल्लो समय साना पैनी तथा सहायक नहर विस्तार भएपछि करिब ३० हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको कार्यालयले जनाएको छ ।
धनुषातर्फ कमला नहर प्रणालीमार्फत गणेशमान चारनाथ, सबैला, सहिदनगर, विदेह, कमला, हँसपुर, औरही र जनकनन्दनी गरी आठ स्थानीय तहमा सिँचाइ सुविधा पुगेको छ । त्यस्तै सिरहातर्फ कर्जन्हा, मिर्चैया, कल्याणपुर, सिरहा र औरहीलगायतका क्षेत्रमा पूर्वी नहरबाट सिँचाइ सुविधा उपलब्ध छ ।
कार्यालय प्रमुख साहका अनुसार दुवै मुख्य नहरमा प्रतिसेकेन्ड १४ हजार लिटरका दरले पानी प्रवाह भइरहेको छ । साथै हर्दिनाथ सिँचाइ योजनाबाट समेत करिब दुई हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ ।
कमला सिँचाइ आयोजनाअन्तर्गत धनुषा र सिरहामा मुख्य तथा सहायक गरी करिब पाँच सय किलोमिटर नहर सञ्जाल विस्तार गरिएको छ । सिँचाइ व्यवस्थापन प्रभावकारी बनाउन किसानको सहभागितामा विभिन्न स्थानमा जल उपभोक्ता समिति गठन गरिएको कार्यालयले जनाएको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका–९ बरमझियाका किसान रामपुकार यादवले नहरमा पानी आएपछि धान रोपाइँ सुरु गर्न सहज भएको बताउनुभयो । उहाँका अनुसार पर्याप्त वर्षा नभए पनि नहर पुगेका क्षेत्रमा किसानले सिँचाइको भरमा रोपाइँ गरिरहेका छन् ।
नहर सुविधा नपुगेका क्षेत्रमा भने किसानले डिप ट्युबवेल, इनार तथा विद्युतीय मोटरको सहायताले सिँचाइ गरेर रोपाइँ गरिरहेका छन् । सिँचाइको अन्य व्यवस्था नभएका किसान अझै आकाशे पानीको प्रतीक्षामा छन् । स्थानीय किसान बलि शर्माले विगतका वर्षमा ढिलो पानी आउने समस्या भए पनि यस वर्ष समयमै नहर सञ्चालन हुँदा धान रोप्न सहज भएको बताउनुभयो । कृषि विकास निर्देशनालय मधेस प्रदेशका अनुसार असार १९ गतेसम्म धनुषामा ४३ हजार ७ सय हेक्टर धान खेतीयोग्य जमिनमध्ये ६ हजार ५ सय ५५ हेक्टरमा मात्र रोपाइँ भएको छ । यो कुल क्षेत्रफलको करिब १५ प्रतिशत हो ।
प्रदेशका आठवटै जिल्लामा ३ लाख ८५ हजार ९३३ हेक्टर धान खेतीयोग्य क्षेत्रमध्ये ५९ हजार ८९५ दशमलव ०६ हेक्टरमा धान रोपाइँ भएको छ । प्रदेशमा हालसम्म करिब १४ दशमलव ७३ प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ सम्पन्न भएको छ ।