लामो समयदेखि सरकारी अनुदान रकमको पर्खाइमा रहेका रौतहटका उखु किसानको समस्या समाधानतर्फ उन्मुख भएको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटमा बिहीबार भएको छलफलपछि सात दिनभित्र आवश्यक विवरण र कागजात उपलब्ध गराई अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सहमति भएको हो । सहमतिसँगै उखु किसानहरूले घोषणा गरेका सबै आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालको उपस्थितिमा तथा सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्रकुमार यादवको अध्यक्षतामा भएको बैठकमा उखु उत्पादक संघका जिल्ला अध्यक्ष अशोक यादवसहित किसान प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
बैठकमा उखु कृषकलाई अनुदान दिने सम्बन्धी कार्यविधि (संशोधन), २०७५ बमोजिम योग्यता पुगेका किसानलाई अनुदान उपलब्ध गराउने निर्णय गरिएको छ । त्यसका लागि स्थानीय तह तथा सम्बन्धित निकायले सात दिनभित्र किसानको विवरण तथा आवश्यक कागजात पेश गर्ने र त्यसको रुजु गरी नियमानुसार भुक्तानी प्रक्रिया अघि बढाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बैठकले किसानको विवरण संकलन कार्यलाई प्रभावकारी बनाउन सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत तथा कृषि शाखाका कर्मचारीलाई सक्रिय रूपमा सहजीकरण गर्न निर्देशन दिएको छ । साथै, विवरण संकलनदेखि समस्या समाधानसम्म समन्वयात्मक भूमिका निर्वाह गर्न पनि आग्रह गरिएको छ ।
उखु उत्पादक संघका जिल्ला अध्यक्ष अशोक यादवले अनुदान रकम सुरक्षित राख्ने जिम्मेवारी प्रशासनले लिएको र किसानहरूले आवश्यक कागजात समयमै उपलब्ध गराउने सहमति भएको बताए। भुक्तानी प्रक्रिया तत्काल सुरु गर्ने सहमतिपछि हालका लागि आन्दोलनका सबै कार्यक्रम स्थगित गरिएको उनले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी भुसालका अनुसार उखुको प्रमाणीकरण चिनी उद्योग (मिल) बाट तथा किसानको प्रमाणीकरण स्थानीय तहबाट हुने व्यवस्था मिलाइएको छ । आवश्यक कागजात पूरा भएपछि अनुदान भुक्तानी समितिलाई प्रक्रिया अघि बढाउन सहज हुने र एक साताभित्र किसानको बैंक खातामा अनुदान रकम जम्मा हुने गरी काम अघि बढाइएको उनले बताए ।
यसअघि प्रशासनिक ढिलाइका कारण करिब सात करोड रुपैयाँ बराबरको अनुदान रकम फ्रिज भएको थियो। तर, माथिल्लो निकायसँगको समन्वयपछि उक्त रकम पुनः उपलब्ध गराउने आश्वासन प्राप्त भएको उखु उत्पादक संघले जनाएको छ । अनुदान रकम वितरणमा भएको ढिलाइ र रकम फ्रिज भएको विषयलाई लिएर किसानहरू आन्दोलनमा उत्रिएका थिए ।
बुधबार साँझ गरुडा–झाँझ पुल क्षेत्रमा टायर बालेर प्रदर्शन गर्दै उनीहरूले गौर–चन्द्रपुर सडकखण्ड करिब चार घण्टा अवरुद्ध गरेका थिए ।