दृष्टिबन्धकमा राखिएको जग्गा बैंकमा धितो राखी करिब चार करोड रुपैयाँ ठगी गरेको आरोपमा धनुषा प्रहरीले एकै परिवारका तीन जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार अनुचित लेनदेन (मिटरब्याज) तथा ठगीसम्बन्धी मुद्दामा फरार रहेका जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वर निवासी ५३ वर्षीय गोपाल साह, उनकी श्रीमती ४८ वर्षीया रेखा साह र ३२ वर्षीय छोरा हरेराम साहलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रुपक खड्काका अनुसार गोपाल साहलाई जनकपुरधामस्थित एक होटलबाट, रेखा साहलाई धनुषाको नगराइन नगरपालिका–स्थित जटही सीमा नाकाबाट तथा हरेराम साहलाई काठमाडौंबाट पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–२ निवासी गोविन्दकुमार साहले व्यापार–व्यवसाय सञ्चालनका लागि गोपाल साहसँग दृष्टिबन्धकका रूपमा आफ्नो जग्गा राखी कपाली तमसुकमार्फत ९९ लाख रुपैयाँ ऋण लिएका थिए । तर, दृष्टिबन्धकमा रहेको उक्त जग्गा वास्तविक जग्गाधनीलाई जानकारी नै नदिई गोपाल साह, उनकी श्रीमती र छोराले बैंकमा धितो राखेर करिब चार करोड रुपैयाँ ऋण लिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीले गोपाल साहको जनकपुरधामस्थित घरमा खानतलासी गर्दा ५० थान जग्गाधनी पुर्जा, १८ थान नागरिकता प्रमाणपत्र, एक थान ल्यापटप तथा विभिन्न छाप र नक्सा बरामद गरेको जनाएको छ ।
पक्राउ परेका तीनै जनामाथि अनुचित लेनदेन (मिटरब्याज) तथा ठगीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।