सर्लाही प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार कौडेना गाउँपालिका–१ सुकचैनाबाट ४ सय १९ किलो ९३ ग्राम गाँजा बरामद गरिएको हो । गाँजा बेचबिखन तथा भण्डारण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले विभिन्न घरमा खोजतलास गर्दा उक्त परिमाणको गाँजा फेला परेको जनाएको छ ।
प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमको नेतृत्वमा १ सय २५ जना प्रहरी परिचालन गरी गरिएको विशेष अभियानका क्रममा गाँजासहित दुई जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा कौडेना गाउँपालिका–१ का २५ वर्षीय राहुल राउत र ४६ वर्षीय महादेव राउत रहेका छन् ।
प्रहरीका अनुसार बरामद गरिएको गाँजा नियन्त्रणमा लिई पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाही ल्याइएको छ । उनीहरूमाथि लागूऔषधसम्बन्धी कसुरमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।