जनकपुरधाम । नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै देशका अधिकांश प्रदेश सरकारले सवारीधनीलाई कर तथा जरिवानामा विशेष छुटको व्यवस्था गरेका छन् । तर मधेश प्रदेश सरकारले भने यस वर्ष पनि सवारी कर तथा नवीकरण जरिवानामा कुनै व्यापक छुट योजना ल्याएको छैन ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशले सवारी कर, नवीकरण, लगत कट्टा तथा जरिवानामा विभिन्न प्रकारका सहुलियत घोषणा गरेका छन् । ती योजनाले लामो समयदेखि कर नतिरेका तथा नवीकरण नगरेका सवारीधनीलाई राहत दिनुका साथै सरकारको बक्यौता राजस्व संकलनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
मधेश प्रदेश सरकारले भने २०८२ साल भदौमा भएको आन्दोलनका क्रममा क्षति भई सञ्चालन अयोग्य बनेका सवारी साधनका लागि मात्रै विशेष व्यवस्था गरेको छ । प्रदेश सरकारले त्यस्ता सवारी साधनको दर्ता खारेज गर्न आगामी असोज मसान्तभित्र निवेदन दिए आर्थिक वर्ष २०८२/८३ को सवारी कर पूर्ण रूपमा मिनाहा गर्ने निर्णय गरेको छ । यसबाहेक सवारी कर वा नवीकरण जरिवानामा कुनै विशेष छुटको व्यवस्था गरिएको छैन ।
अन्य प्रदेशहरूले भने फरक–फरक प्रकृतिका सहुलियत योजना ल्याएका छन् । लुम्बिनी प्रदेशले आगामी पुस मसान्तसम्म कर बुझाएर नवीकरण गर्न आउने सवारीधनीलाई नवीकरण जरिवानामा ५० प्रतिशत छुट दिएको छ भने सुदूरपश्चिम प्रदेशले पाँच वर्ष वा सोभन्दा बढी समयदेखि कर नतिरेका सवारी साधनका लागि कर तथा नवीकरण जरिवाना पूर्ण रूपमा मिनाहा गर्ने व्यवस्था गरेको छ ।
त्यसैगरी, कोशी प्रदेशले पाँच वर्षभन्दा बढी कर बाँकी रहेका सवारीधनीले पछिल्लो एक आर्थिक वर्षको कर मात्रै बुझाए बाँकी कर तथा जरिवाना मिनाहा हुने नीति लागू गरेको छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशले पनि पुराना वा सञ्चालनमा नरहेका सवारी साधनको लगत कट्टा सहज बनाउन कर तथा जरिवानामा विभिन्न प्रकारका छुटको व्यवस्था गरेका छन् ।
कोशी प्रदेशले विद्यार्थी, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सहुलियत दरमा सेवा दिने सार्वजनिक सवारीलाई सवारी करमा ६० प्रतिशत छुट दिने व्यवस्था गरेको छ । कर्णाली प्रदेशले भने पाँच वर्षको सवारी कर एकमुष्ट अग्रिम भुक्तानी गर्ने सवारीधनीलाई २० प्रतिशत कर छुट दिने योजना सार्वजनिक गरेको छ ।
देशका अधिकांश प्रदेशले सवारीधनीलाई राहत दिने नीति अघि सारेका बेला मधेश प्रदेश सरकारले सीमित अवस्थाबाहेक कुनै व्यापक कर छुट योजना नल्याएकाले सवारीधनीले निराशा व्यक्त गरेका छन् ।