सर्लाहीको मलंगवास्थित नेपाल टेलिकमको करिब ८० मिटर अग्लो टावरमा चढेका एक युवकको सकुशल उद्धार गरिएको छ ।
प्रेमिकासँग विवाह गराइदिनुपर्ने माग राख्दै टावरको सबैभन्दा माथिल्लो भागमा चढेका युवकलाई नेपाल प्रहरी, स्थानीयवासी तथा परिवारको समन्वयमा सुरक्षित रूपमा तल झारिएको हो ।
प्रहरीका अनुसार गोडैता नगरपालिका–९ बकैनियाका २४ वर्षीय अफसर आलम हुसैन आइतबार बिहान टेलिकम टावरमा चढेका थिए । उद्धारका क्रममा उनले आफ्नी प्रेमिकालाई घटनास्थलमा बोलाइदिनुपर्ने अडान राखेका कारण केही समय उद्धार कार्य जटिल बनेको थियो ।
प्रत्यक्षदर्शीका अनुसार हुसैनले प्रहरीसँग ‘मेरो प्रेमिकालाई बोलाइदिनु, त्यसपछि मात्रै म तल ओर्लिन्छु’ भन्दै अडान लिएका थिए । पछि प्रहरी, परिवार र आफन्तले निरन्तर सम्झाइबुझाइ गरेपछि उनी टावरबाट तल ओर्लन सहमत भएका थिए ।
प्रहरीका अनुसार अफसर आलम हुसैन सर्लाही क्याम्पस, मलंगवामा बीबीएस अध्ययनरत विद्यार्थी हुन् । घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो र कुनै अप्रिय घटना हुन नदिन उच्च सतर्कताका साथ उद्धार अभियान सञ्चालन गरिएको थियो ।
युवकका आमाबुवाले भावनात्मक रूपमा सम्झाएपछि उनी सकुशल तल ओर्लिएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानअनुसार उनले प्रेमिकासँग विवाह गराइदिनुपर्ने माग राख्दै टावरमा चढेको खुलेको छ। यद्यपि घटनाको वास्तविक कारण र पृष्ठभूमिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।