धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१७ कनकपट्टिमा एक अज्ञात पुरुषको शव फेला परेको छ ।
स्थानीयवासीले कनकपट्टि रेल्वे हल्ट नजिक एक पुरुष मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।प्रहरीका अनुसार कनकपट्टि रेल्वे हल्टको उत्तर–पूर्वतर्फ एक पुरुष मृत अवस्थामा फेला परेका हुन् । घटनास्थलको मुचुल्का तयार गरी शवलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
हालसम्म मृतकको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। शवको पहिचान खुलाउने तथा मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले घटनासम्बन्धी आवश्यक अनुसन्धान अघि बढाएको तथा मृतकको पहिचानका लागि स्थानीयवासी तथा सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाएको छ ।