सर्लाही | सर्लाहीको सदरमुकाम मलङ्गवास्थित नेपाल टेलिकमको ८० मिटर अग्लो टावरमा चढेका एक युवकको आइतबार सकुशल उद्धार गरिएको छ ।
मलङ्गवा नगरपालिका–९ स्थित नेपाल टेलिकमको टावरमा चढेका गोडैता नगरपालिका–९, बकैनियाका २४ वर्षीय अफसर आलम हुसैनलाई परिवारका सदस्य र प्रहरीको निरन्तर सम्झाइबुझाइपछि सकुशल तल झारिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रवक्ता तथा प्रहरी निरीक्षक गणेश पाण्डेका अनुसार युवकको प्रादेशिक अस्पताल मलङ्गवामा सामान्य स्वास्थ्य परीक्षण गरिएको थियो । परीक्षणपछि उनलाई परिवारको जिम्मा लगाइएको छ ।
नेपाल टेलिकम कार्यालय मलङ्गवाका प्रमुख सधुघनकुमार यादवका अनुसार आइतबार बिहान करिब ५ बजेतिर दुई युवक कार्यालयमा आएर आफ्नो साथी टावरमा चढेको जानकारी दिएपछि मात्र घटनाबारे थाहा भएको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार सर्लाही क्याम्पस मलङ्गवामा स्नातक तहमा अध्ययनरत अफसर गाउँकै एक युवतीसँग विवाह गराइदिनुपर्ने माग राख्दै टावरमा चढेका थिए । प्रहरी, नेपाल टेलिकमका कर्मचारी र स्थानीयले बिहानैदेखि उनलाई सम्झाएर तल झार्ने प्रयास गरेका थिए। तर युवकले आफूले विवाह गर्न चाहेको युवतीलाई घटनास्थलमा बोलाउनुपर्ने अडान लिएका कारण उनी टावरबाट झर्न मानेका थिएनन् ।
पछि युवकका बुबा र आमालाई घटनास्थलमा बोलाइएपछि उनी बिहान करिब ९ बजेतिर आफैँ टावरबाट तल झरेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार युवक उज्यालो हुनुअघि नै टावरमा चढेको हुन सक्ने अनुमान गरिएको छ। टेलिकमका सुरक्षा गार्डले पनि युवक अँध्यारोमै पर्खालतर्फबाट प्रवेश गरी टावरमा चढेकाले समयमै थाहा हुन नसकेको बताएका छन् ।
घटनाको खबर फैलिएपछि नेपाल टेलिकम मलङ्गवा कार्यालय परिसरमा करिब तीन घण्टासम्म स्थानीयवासीको ठूलो भीड लागेको थियो ।