काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको पुरानो कार्यकारिणी समितिको बैठक सुरु भएको छ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालसँग एकता हुनुअघि कायम रहेको कार्यकारिणी समितिको बैठक आइतबार पार्टीको केन्द्रीय कार्यालयमा बसेको हो ।
बैठकमा लोसपा नेपालसँग भएको पार्टी एकता, समायोजन प्रक्रिया, केन्द्रीय समिति गठन तथा संगठनलाई पूर्णता दिने विषयमा छलफल भइरहेको जनाइएको छ ।
गत पुसमा जसपा नेपाल र लोसपा नेपालबीच पार्टी एकता भएको थियो। उक्त एकतालाई निर्वाचन आयोगले पनि मान्यता दिइसकेको भए पनि पार्टीको संगठनात्मक संरचनाले अझै पूर्णता पाउन सकेको छैन।
जसपा नेपालका नेता शैलेन्द्र साहका अनुसार दुई दलबीच समायोजनका विषयमा अझै सहमति जुट्न सकेको छैन । दुवै दलमा पदका आकाङ्क्षीको संख्या धेरै भएकाले उनीहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा बैठकमा गम्भीर छलफल भइरहेको उनले बताए ।
दुवै दलले आ–आफ्नो पुरानो कार्यकारिणी समितिमा आन्तरिक सहमति जुटाएपछि संयुक्त बैठकमार्फत समायोजन प्रक्रिया टुङ्ग्याउने सहमति गरेका छन् । जसपा नेपालको बैठक सकिएलगत्तै लोसपा नेपालको पुरानो कार्यकारिणी समितिको बैठक पनि बस्ने तयारी रहेको जनाइएको छ ।