काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सडक र सदन दुवै मोर्चालाई प्रभावकारी रूपमा अघि बढाइने बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित सांसद प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सडक संघर्ष र संसदीय संघर्ष एकअर्काका पूरक भएकाले दुवै मोर्चालाई सशक्त बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिए ।
उनले पछिल्लो राजनीतिक घटनाक्रमका कारण पार्टीले केही धक्का बेहोरेको स्वीकार गर्दै कार्यकर्ताको मनोबल केही खस्किएको हुन सक्ने बताए । तर, चुनौतीबाट पाठ सिक्दै थप सशक्त भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।
“धक्का लागेपछि केही समय मनोबल कमजोर हुनु स्वाभाविक हो,” ओलीले भने, “तर धक्काबाट उठेर अझ दृढताका साथ अगाडि बढ्नुपर्छ ।”
अध्यक्ष ओलीले वर्तमान राजनीतिक अवस्था परिभाषाविहीन, दिशाविहीन, नीतिविहीन र थितिविहीन बन्दै गएको टिप्पणी गरे। लोकतान्त्रिक व्यवस्थामा सरकार परिवर्तनका लागि संवैधानिक, कानुनी तथा संसदीय प्रक्रिया अपनाउनुपर्ने उल्लेख गर्दै हिंसा, आगजनी, तोडफोड, जबरजस्ती र असंवैधानिक गतिविधिले लोकतन्त्रलाई कमजोर बनाउने बताए ।
उनले पछिल्लो समय राज्यको उपस्थिति कमजोर बन्दै गएको र अराजक प्रवृत्ति बढ्दै गएको आरोप पनि लगाए ।
सामाजिक सञ्जालको प्रयोगबारे बोल्दै अध्यक्ष ओलीले सामाजिक सञ्जाल स्वस्थ बहसको माध्यम बन्न सक्ने भए पनि कुनै जवाफदेहिता बिना निराधार र असत्य सूचना फैलाउने प्रवृत्ति बढिरहेको बताए ।
उनले सामाजिक सञ्जालमार्फत गलत सूचना र अफवाह फैलाउने गतिविधिले समाजमा विकृति निम्त्याइरहेको भन्दै त्यसप्रति सबै सचेत हुनुपर्ने धारणा व्यक्त गरे ।