सप्तरी कारागारमा चौकीदारमाथि भएको कुटपिट घटनाको सत्यतथ्य छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ । घटनामा संलग्न कैदीबन्दीलाई कारबाही गरी अन्यत्र सरुवा गर्नुपर्ने माग राख्दै ए–ब्लकका २०१ जना कैदीबन्दी दुई दिनदेखि आमरण अनशनमा बसेका छन् ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवको संयोजकत्वमा समिति गठन गरेको हो । समितिमा जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग कार्यालय सप्तरीका अधिकृतस्तरका प्रतिनिधि सदस्य रहेका छन् भने जिल्ला प्रशासन कार्यालयका एक अधिकृत सदस्य–सचिव रहेका छन् ।
कारागार प्रमुख रूपक मण्डलका अनुसार समितिलाई घटनाको वास्तविक अवस्था अध्ययन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ । उनका अनुसार गत असार ३२ गते बी–ब्लकका ३८ वर्षीय चौकीदार रामरिझन यादवमाथि केही कैदीबन्दीले सामूहिक रूपमा कुटपिट गरेका थिए । उक्त घटनामा यादवको आँखामाथि गहिरो चोट लागेको थियो भने चार वटा टाँका लगाइएको छ । टाउको तथा शरीरका अन्य भागमा समेत चोट लागेपछि उनलाई तत्काल राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार गराइएको थियो ।
आइतबार बिहान स्वास्थ्यमा पुनः समस्या देखिएपछि उनलाई पुनः अस्पतालमा परीक्षण गराइएको र चिकित्सकले आराम गर्न सुझाव दिएको कारागार प्रशासनले जनाएको छ । उपचारका क्रममा यादवले लागूऔषध मुद्दाका कैदीबन्दी जाहुर नट मियाँ (मजलुम), अनिशकुमार मण्डल, सुन्दर मुखिया, बुधन भन्ने जोगानन्द मण्डल, मिथिलेशकुमार यादव, कैलास विश्वास र अमरनाथ विश्वास लगायतले आफूलाई कुटपिट गरेको आरोप लगाएका छन् ।
कारागार प्रमुख मण्डलले कारागारभित्र शंकास्पद वस्तु लुकाइएको आशंकामा विशेष सुरक्षा अपरेसन सञ्चालन गर्ने तयारी भइरहेका बेला उक्त अभियान रोक्ने उद्देश्यले चौकीदारमाथि आक्रमण भएको दाबी गरे । उनले चौकीदारको नियुक्ति, आर्थिक लेनदेन वा व्यक्तिगत विवादसँग घटनाको कुनै सम्बन्ध नरहेको स्पष्ट पारे ।
यता प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले ए–ब्लक र बी–ब्लकका कैदीबन्दीबीच लामो समयदेखि विवाद रहेको बताए । उनका अनुसार दुवै पक्षले एकअर्कामाथि आरोप–प्रत्यारोप गर्दै आएका छन् र घटनाको वास्तविकता छानबिन समितिको प्रतिवेदनपछि मात्रै स्पष्ट हुनेछ । यसअघि शनिबार बिहान सोही घटनालाई लिएर पाँच जना कैदीबन्दीले कारागारको मुख्य प्रवेशद्वार तथा आफ्नै शरीरमा मट्टितेल खन्याएर आत्मदाहको प्रयास गरेका थिए । आत्मदाहको प्रयास गर्नेहरूमा बुधन मण्डल, अमरनाथ विश्वास, अनिशकुमार मण्डल, मिथिलेश यादव र सुन्दर मुखिया रहेका छन् ।
कारागार प्रशासनका अनुसार कारागारभित्र शंकास्पद वस्तु लुकाइएको हुन सक्ने आशंकामा विशेष सुरक्षा अपरेसन सञ्चालन गर्ने तयारी गरिएको थियो । सोही क्रममा लागूऔषध मुद्दाका कैदी बुधन मण्डललाई बी–ब्लकबाट ए–ब्लकमा सार्ने क्रममा केही कैदीबन्दीले चौकीदार रामरिझन यादवमाथि आक्रमण गरेका थिए । यस घटनापछि बी–ब्लकका चौकीदार रामरिझन यादवको नियुक्तिपछि व्यवस्थापन तथा कैदीबन्दीप्रति असमान व्यवहार भएको आरोप लगाउँदै कारागारभित्र गुटबन्दी र असन्तुष्टि बढेको चर्चा समेत भइरहेको छ ।
हाल १ सय २५ जनाको क्षमता रहेको सप्तरी कारागारमा ३ सय ९८ जना कैदीबन्दी रहेका छन् । तीमध्ये ए–ब्लकमा २०१, बी–ब्लकमा १६६ तथा सी–ब्लकमा तीन आश्रित बालबालिकासहित ३१ जना महिला कैदीबन्दी रहेका छन् ।