साउने महिनाको पहिलो सोमबारका अवसरमा महोत्तरीको बर्दिबास नगरपालिका–५ स्थित चुरे पर्वतको काखमा अवस्थित टुटेश्वरनाथ महादेव मन्दिरमा सोमबार बिहानैदेखि श्रद्धालुभक्तहरूको उल्लेख्य भीड लागेको छ ।
‘मधेशको कैलास’ तथा ‘नेपालको बाबाधाम’का रूपमा परिचित यस पवित्र धार्मिकस्थलमा नेपालका विभिन्न जिल्लाका साथै भारतका सीमावर्ती क्षेत्रबाट आएका हजारौँ भक्तजनले भगवान् शिवको जलाभिषेक तथा पूजाआराधना गरिरहेका छन् । हिन्दू धर्मावलम्बीका लागि भगवान् शिवको अत्यन्त प्रिय महिना मानिने साउनमा प्रत्येक सोमबार विशेष धार्मिक महत्व रहने विश्वास छ । यही आस्थाका कारण प्रत्येक वर्ष आयोजना हुने साउने बोलबम मेलाले टुटेश्वरनाथलाई धार्मिक, सांस्कृतिक तथा पर्यटनका दृष्टिले महत्वपूर्ण गन्तव्यका रूपमा स्थापित गर्दै आएको छ ।
स्थानीय जनविश्वासअनुसार टुटेश्वरनाथको शिवलिङ्ग अत्यन्त प्राचीन छ। बुढापाकाका अनुसार यसको इतिहास त्रेतायुगका विदेहराज शिरध्वज जनकको शासनकालसँग जोडिएको छ । द्वापर युगमा वनवासका क्रममा पाण्डवहरूले यही स्थानमा भगवान् शिवको आशीर्वाद प्राप्त गरेको तथा अर्जुनले किरात रूपधारी भगवान् शिवको दर्शन यहीँ गरेको धार्मिक विश्वास पनि रहिआएको छ ।
पूर्वीय दर्शनका जानकार तथा बर्दिबास–५ चेरु निवासी ८० वर्षीय भोगेन्द्रराज पौडेलले टुटेश्वरनाथ धार्मिक आस्थाको केन्द्र मात्र नभई ऐतिहासिक तथा पुरातात्त्विक दृष्टिले पनि अत्यन्त महत्वपूर्ण स्थल रहेको बताउनुभयो। उहाँले यस स्थानसँग सम्बन्धित पौराणिक कथा, जनश्रुति र ऐतिहासिक महत्वबारे थप अध्ययन तथा व्यापक प्रचार–प्रसार गर्न आवश्यक रहेको धारणा राख्नुभयो ।
टुटेश्वरनाथमा साउन महिना, महाशिवरात्रि र बालाचतुर्दशीका अवसरमा विशेष मेला लाग्ने गर्दछ। टुटेश्वरनाथ महादेव मन्दिर संरक्षण समितिका अनुसार पछिल्ला पाँच वर्षदेखि साउन महिनाभर करिब २० लाख श्रद्धालुभक्तले दर्शन गर्ने गरेका छन् । यस वर्ष पनि भक्तजनको सङ्ख्या अझ बढ्ने अपेक्षा गरिएको छ ।
मेलालाई व्यवस्थित बनाउन समितिले सरसफाइ, रङरोगन, सजावट तथा अस्थायी पसल सञ्चालनका लागि टहरा व्यवस्थापनलगायतका सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ। समितिका अध्यक्ष राजाराम यादवले यस वर्ष मन्दिरप्रति सरकारी निकाय, जनप्रतिनिधि तथा सामाजिक सङ्घसंस्थाको चासो उल्लेखनीय रूपमा बढेको बताउनुभयो ।
उहाँका अनुसार प्रतिनिधिसभा सदस्य प्रमोदकुमार महतो, मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री शारदा थापा, स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरूले मेला तयारीको निरन्तर अनुगमन गरिरहेका छन् । सबै पक्षको सहयोगले यस वर्षको मेला अझ व्यवस्थित, सुरक्षित र भव्य हुने विश्वास व्यक्त गरिएको छ ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले साउने बोलबम मेलालाई लक्षित गरी नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको जानकारी दिनुभयो । श्रद्धालुको सुरक्षालाई प्राथमिकतामा राख्दै भीड व्यवस्थापन, ट्राफिक सञ्चालन तथा आकस्मिक उद्धारका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरिएको उहाँले बताउनुभयो ।
टुटेश्वरनाथमा जल चढाउन भक्तजनले कमला, बागमती र रातु नदीबाट पवित्र जल ल्याएका छन् । यसैबीच, बर्दिबास–१ निवासी जीवनाथ पोखरेलले रातु नदीबाट जल भरेर उल्टो साइकल चलाउँदै टुटेश्वरनाथमा जल चढाउने विशेष अभियान सञ्चालन गर्नुभएको छ । उहाँका अनुसार यस अभियानको उद्देश्य टुटेश्वरनाथको धार्मिक महत्वलाई राष्ट्रियस्तरसम्म पुर्याउनुका साथै स्थानीय पर्यटन प्रवर्द्धन गर्नु हो ।
नेपाल होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीका अध्यक्ष गुञ्जबहादुर कार्कीले चुरे क्षेत्रका धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रभावकारी प्रचार–प्रसार गर्न सके धार्मिक पर्यटनमार्फत मधेश प्रदेशको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।
साउने बोलबम मेलाका अवसरमा विभिन्न सामाजिक सङ्घसंस्थाले श्रद्धालुभक्तका लागि निःशुल्क खानेपानी, प्राथमिक उपचार, स्वास्थ्य परामर्श तथा स्वयंसेवा सेवा सञ्चालन गरेका छन् । धार्मिक आस्था, सांस्कृतिक परम्परा र पर्यटन प्रवर्द्धनलाई एकैसाथ जोड्ने टुटेश्वरनाथ साउने बोलबम मेलाले यस वर्ष पनि हजारौँ श्रद्धालुभक्तलाई आकर्षित गरेको छ ।