जनकपुरधाम । जिल्ला ट्राफिक प्रहरी कार्यालय, जनकपुरधामले आर्थिक वर्ष २०८२/८३ मा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कारबाही गरी १ करोड १४ लाख ९ हजार ५०१ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक खगेन्द्रकुमार दाहालका अनुसार गत आर्थिक वर्षमा ट्राफिक नियम उल्लङ्घन गरेका १२ हजार ६०३ सवारीसाधनमाथि कारबाही गरिएको थियो ।
उनका अनुसार आर्थिक वर्ष २०८१/८२ मा भने २८ हजार ५३८ सवारीसाधनमाथि कारबाही गर्दा २ करोड २१ लाख १० हजार ५०० रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।
त्यस्तै, आर्थिक वर्ष २०८२/८३ मा धनुषा जिल्लामा १ हजार ३५८ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा ८२ जनाको मृत्यु भएको छ भने २ हजार १९८ जना घाइते भएका छन् ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा धनुषामा १ हजार २२१ वटा सवारी दुर्घटना हुँदा ८४ जनाको मृत्यु भएको थियो। तथ्याङ्कअनुसार गत वर्ष दुर्घटनाको सङ्ख्या बढे पनि मृत्यु हुनेको सङ्ख्या भने केही घटेको देखिएको छ ।
प्रहरी निरीक्षक दाहालका अनुसार सडकको नाजुक अवस्था, मानवीय लापरवाहीलगायतका कारण सवारी दुर्घटनाको सङ्ख्या बढ्ने गरेको भए पनि ट्राफिक सचेतना अभियान र नियमित सवारी जाँचका कारण दुर्घटनाबाट हुने मानवीय क्षति घटाउन केही सफलता मिलेको छ ।
उनले ट्राफिक नियमको पालना, चालक तथा यात्रुको सचेतना अभिवृद्धि र नियमित अनुगमनलाई थप प्रभावकारी बनाइने पनि बताए ।