गौर भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा निर्धारित लक्ष्यभन्दा ४१.१४ प्रतिशत बढी राजस्व संकलन गर्दै उल्लेखनीय सफलता हासिल गरेको छ ।
कार्यालयले गत आर्थिक वर्षमा ४६ करोड ९९ लाख रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ । उक्त रकम वार्षिक लक्ष्य ३३ करोड २९ लाख रुपैयाँको १४१.१४ प्रतिशत हो। यससँगै कार्यालयले लक्ष्यभन्दा करिब १३ करोड ७० लाख रुपैयाँ बढी राजस्व संकलन गर्न सफल भएको हो ।
गौर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत विकासकुमार रजकका अनुसार गत आर्थिक वर्षको साउनमा २ करोड ६७ लाख रुपैयाँ (९८.९७ प्रतिशत), भदौमा २ करोड ४७ लाख रुपैयाँ (८७.९७ प्रतिशत), असोजमा २ करोड २८ लाख रुपैयाँ (८१.११ प्रतिशत) तथा कात्तिकमा २ करोड २६ लाख रुपैयाँ (७९.२६ प्रतिशत) राजस्व संकलन भएको थियो ।
त्यसैगरी, मङ्सिरमा ४ करोड ३७ लाख रुपैयाँ (१७०.१७ प्रतिशत), पुसमा ५ करोड ६२ लाख रुपैयाँ (२१३.०५ प्रतिशत), माघमा ३ करोड ३६ लाख रुपैयाँ (१२८.६१ प्रतिशत), फागुनमा २ करोड ७९ लाख रुपैयाँ (१०७.९० प्रतिशत), चैतमा ४ करोड ७३ लाख रुपैयाँ (१६६.५६ प्रतिशत), वैशाखमा ५ करोड २३ लाख रुपैयाँ (१८३.४१ प्रतिशत), जेठमा ५ करोड २१ लाख रुपैयाँ (१६६.५७ प्रतिशत) र असारमा ५ करोड ९४ लाख रुपैयाँ (२०७.९१ प्रतिशत) राजस्व संकलन भएको उनले जानकारी दिए ।
चोरी निकासी–पैठारी नियन्त्रणमा पनि सफलता
गौर भन्सार कार्यालयले चोरी निकासी तथा पैठारी नियन्त्रणमा पनि उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ ।
कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कार्यालयको गस्ती टोलीले ११ लाख २६ हजार ६९४ रुपैयाँ बराबरका मालवस्तुसँग सम्बन्धित २२ वटा मुद्दा दर्ता गरेको छ ।
यस्तै, सशस्त्र प्रहरी बल नेपालले ४ करोड ५ लाख १९ हजार ११० रुपैयाँ बराबरका ४८१ वटा तथा नेपाल प्रहरीले ५ करोड ५५ लाख १८ हजार १०६ रुपैयाँ बराबरका १५१ वटा चोरी निकासी तथा पैठारीसम्बन्धी मुद्दा दर्ता गराएको कार्यालयले जनाएको छ ।
लिलामबाट थप आम्दानी
चोरी पैठारीको अभियोगमा जफत गरिएका मालवस्तु तथा सवारीसाधनको लिलाम बिक्रीबाट पनि कार्यालयले थप राजस्व संकलन गरेको छ ।
कार्यालयका अनुसार १ करोड ६९ हजार ६७४ रुपैयाँ बराबरका मालवस्तु तथा १ करोड ३३ लाख १४ हजार ९७५ रुपैयाँ बराबरका सवारीसाधन लिलाम बिक्री गरी थप राजस्व संकलन गरिएको हो ।
कार्यालयले राजस्व संकलनमा भएको उल्लेखनीय वृद्धिलाई प्रभावकारी निगरानी, राजस्व चुहावट नियन्त्रण, आयात कारोबारमा आएको वृद्धि तथा कार्यसम्पादनमा भएको सुधारको परिणामका रूपमा व्याख्या गरेको छ ।
गौर भन्सार कार्यालयले गत आर्थिक वर्षमा हासिल गरेको यो उपलब्धिलाई देशभरका भन्सार कार्यालयमध्ये उल्लेखनीय कार्यसम्पादनका रूपमा हेरिएको छ ।