मधेश प्रदेशमा ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनमाथि कडाइका साथ कारबाही गर्दा एक आर्थिक वर्षमा झण्डै १३ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।
ट्राफिक प्रहरीको निरन्तर कारबाही, सचेतना अभियान र प्रभावकारी निगरानीका कारण सवारी दुर्घटनाको संख्या बढे पनि दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या भने घटेको पाइएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार आर्थिक वर्ष २०८२/८३ मा ट्राफिक नियम उल्लंघन गर्ने १ लाख १० हजार ७५५ वटा सवारीसाधनमाथि कारबाही गरिएको छ । कारबाहीबाट ११ करोड १५ लाख ६५ हजार २१० रुपैयाँ राजस्व संकलन भएको उहाँले जानकारी दिनुभयो ।
यस्तै, यातायात व्यवस्था कार्यालयमार्फत ८४८ वटा ओभरलोड सवारीसाधनमाथि कारबाही गर्दा थप १ करोड ५४ लाख ४९ हजार २५७ रुपैयाँ राजस्व संकलन भएको छ । जिल्लागत रूपमा सबैभन्दा धेरै सवारीसाधन पर्सामा कारबाहीमा परेका छन् । पर्सामा १३ हजार ७८९ वटा सवारीसाधनमाथि कारबाही गर्दा १ करोड ६१ लाख ७१ हजार ५०२ रुपैयाँ राजस्व संकलन भएको छ ।
त्यसैगरी महोत्तरीमा १ करोड ४९ लाख ३० हजार ५०२ रुपैयाँ, बारामा १ करोड ३२ लाख ७९ हजार ५१ रुपैयाँ, रौतहट र सर्लाहीमा समान १ करोड १७ लाख ५२ हजार ५०२ रुपैयाँ, सिराहामा १ करोड १४ लाख ५६ हजार रुपैयाँ, धनुषामा १ करोड ११ लाख ३४ हजार ५० रुपैयाँ तथा सप्तरीमा ५४ लाख १४ हजार ५५१ रुपैयाँ राजस्व संकलन भएको छ ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले मात्रै १ करोड ७२ लाख ८२ हजार ५३ रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ । यसै अवधिमा मधेश प्रदेशभर ११ हजार ४१६ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा ५३४ जनाले ज्यान गुमाएका छन् । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ७ हजार ४४३ वटा दुर्घटनामा ५६४ जनाको मृत्यु भएको थियो । तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा दुर्घटनाको संख्या उल्लेख्य रूपमा बढे पनि दुर्घटनामा मृत्यु हुनेको संख्या भने ३० जनाले घटेको छ ।
प्रदेश ट्राफिक प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) नवराज न्यौपानेका अनुसार दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल संलग्न छन् । आर्थिक वर्षभर ७ हजार ८५१ वटा मोटरसाइकल दुर्घटनामा परेको उहाँले जानकारी दिनुभयो ।
मोटरसाइकलको अत्यधिक प्रयोग, तीव्र गति, ट्राफिक नियमको उल्लंघन, हेल्मेट प्रयोगमा लापरबाही, जोखिमपूर्ण ओभरटेक, अनुभवहीन चालक, सवारी चलाउँदा मोबाइल फोनको प्रयोग, मदिरा सेवन गरी सवारी चलाउने प्रवृत्ति तथा वर्षायाममा चिप्लो सडक दुर्घटनाका प्रमुख कारण रहेको ट्राफिक प्रहरीले जनाएको छ ।
आर्थिक वर्षभर प्रदेशका विभिन्न स्थानमा २६ हजार ८८३ वटा ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो । ती कार्यक्रममा १४ लाख २४ हजार ८४४ जनाको सहभागिता रहेको प्रहरीले जनाएको छ ।
ट्राफिक नियमको कडाइका साथ कार्यान्वयन, व्यापक जनचेतना तथा नियमित निगरानीका कारण दुर्घटनाको जोखिम न्यूनीकरणसँगै दुर्घटनाबाट हुने मृत्यु घटाउन सकारात्मक उपलब्धि हासिल भएको प्रदेश ट्राफिक प्रहरीले जनाएको छ ।