मार्बल कम्पनीको नाम र छाप प्रयोग गरी नक्कली बोरबेल पाइप उत्पादन तथा बिक्री गरेको आरोपमा पक्राउ परेका जानकी प्लाष्टिक उद्योगका सञ्चालक नवकृष्ण मुरारकाको बचाउमा प्रहरी लागेको आरोप लागेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाले हिरासतमा लिएका मुरारकालाई अनुसन्धानका क्रममा जिल्ला अदालत सिरहाले सात दिनको म्याद दिएको भए पनि पक्राउ परेको भोलिपल्टै प्रादेशिक अस्पताल सिरहामा राखिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी रमेशबहादुर पालका अनुसार मुरारका अझै अस्पतालमै रहेका छन् । तर अस्पतालका केही चिकित्सकले उनलाई भर्ना गर्नुपर्ने अवस्था नरहेको बताए पनि विशेष सुविधासहित राखिएको आरोप लागेको छ । मुरारकामाथि तीन वर्षभन्दा बढी समयदेखि चर्चित मार्बल कम्पनीको ट्रेडमार्क र लोगो प्रयोग गरी नक्कली बोरबेल पाइप उत्पादन तथा बिक्री गर्दै आएको आरोप छ ।
जानकी पाइप उद्योगले कवाड प्लाष्टिक प्रयोग गरी पाइप उत्पादन गर्ने गरेको र विभिन्न चर्चित कम्पनीको नाम तथा लोगो प्रयोग गरी महँगो मूल्यमा बजारमा बिक्री गर्ने गरेको आरोप छ । प्रहरीले जानकी पाइप उद्योगबाट मार्बल कम्पनीको नाममा उत्पादन गरिएका ठूलो परिमाणका बोरबेल पाइप बरामद गरेको जनाएको छ ।
सिरहाको गोलबजारस्थित नेहाल हार्डवेयरबाट नक्कली मार्बलको बोरबेल पाइप बरामद भएपछि प्रहरीले सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो । त्यसपछि अनुसन्धानकै क्रममा जानकी प्लाष्टिक उद्योगका सञ्चालक मुरारका पक्राउ परेका थिए ।
गोलबजारबाट नक्कली पाइप बरामद भएपछि प्रहरीले जानकी पाइप उद्योगमा समेत छापा मारेको थियो । तर उद्योगबाट ठूलो परिमाणमा पाइप अन्यत्र लुकाइएको र त्यसमा प्रहरीकै संरक्षण रहेको आरोप पीडित कम्पनी पक्षले लगाएको छ ।
मुरारकाको स्वामित्वमा रहेको ज्ञानदा स्कुल नजिकै गुड्डु गोयन्काको रियल इँटा उद्योग परिसरमा नक्कली बोरबेल पाइप लुकाइएको दाबी गरिएको छ । उक्त स्थान प्रहरी कार्यालय मुजेलियाबाट करिब एक किलोमिटर र लक्ष्मीनिया प्रहरी चौकीबाट करिब दुई किलोमिटर दूरीमा रहेको बताइएको छ ।
सूचना प्राप्त भएको लामो समय बितिसक्दा पनि प्रहरीले लुकाइएका पाइप बरामद गर्न नसकेको भन्दै मार्बल कम्पनीका अधिकारीहरूले प्रहरीको भूमिकामाथि प्रश्न उठाएका छन् । उनीहरूले नक्कली उत्पादन गर्ने उद्योग र सञ्चालकलाई संरक्षण गरिएको आरोप लगाउँदै निष्पक्ष अनुसन्धान र बाँकी रहेका नक्कली पाइप तत्काल बरामद गर्न माग गरेका छन् ।