चालु आर्थिक वर्षको बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न अर्थ मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय तथा सरकारी निकायलाई ४७ बुँदे बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शन जारी गरेको छ ।
बजेट तथा स्वीकृत कार्यक्रमलाई तोकिएको समयसीमाभित्रै सम्पन्न गर्न, पुँजीगत खर्चको प्रभावकारिता बढाउन, स्रोत–साधनको मितव्ययी उपयोग गर्न तथा विकास आयोजनाको नियमित अनुगमन सुनिश्चित गर्न मार्गदर्शन जारी गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।
मार्गदर्शनअनुसार सबै मन्त्रालय तथा सरकारी निकायले स्वीकृत बजेट तथा कार्यक्रमलाई लाइन मिनिस्ट्री बजेट इन्फर्मेसन सिस्टम (एलएमबिआईएस) मा समयमै अद्यावधिक गर्नुपर्नेछ । त्यस्तै, सार्वजनिक खरिद योजना र वार्षिक कार्ययोजना आर्थिक वर्षको सुरुमै तयार गरी कार्यान्वयनमा लैजानुपर्ने तथा आयोजना सञ्चालनका क्रममा देखिने समस्या र अवरोध समयमै समाधान गर्नुपर्ने व्यवस्था गरिएको छ ।
अर्थ मन्त्रालयले बजेट विनियोजनको उद्देश्यअनुसार मात्रै रकम खर्च गर्न, अनावश्यक खर्च नियन्त्रण गर्न, सार्वजनिक खरिद प्रक्रियालाई प्रतिस्पर्धात्मक, पारदर्शी र समयबद्ध बनाउन निर्देशन दिएको छ ।
विकास आयोजनाको भुक्तानी कार्यसम्पादनका आधारमा मात्रै गर्नुपर्ने, राजस्व संकलनलाई प्रभावकारी बनाउनुपर्ने, आन्तरिक नियन्त्रण प्रणाली सुदृढ गर्नुपर्ने तथा सार्वजनिक सम्पत्तिको संरक्षण र सदुपयोग गर्नुपर्ने विषयलाई समेत मार्गदर्शनमा समेटिएको छ ।
मन्त्रालयले आयोजना तथा कार्यक्रमको नियमित अनुगमन, प्रगति समीक्षा र प्रतिवेदन प्रणालीलाई व्यवस्थित बनाउन जोड दिएको छ । बजेट कार्यान्वयनमा हुने ढिलाइ, कमजोर खर्च क्षमता र लक्ष्यअनुसार उपलब्धि हासिल हुन नसक्ने अवस्थालाई सुधार गर्न यस्तो व्यवस्था गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।