मोरङको सुन्दरहरैँचास्थित सुकुना माध्यमिक विद्यालयमा वर्षौंदेखि दबिएको भनिएको यौनजन्य दुर्व्यवहारको घटना सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको छ ।
विद्यालयले ट्रान्सक्रिप्ट शुल्क वृद्धि गरेपछि विरोध जनाउन बनाइएको फेसबुक समूहमा पूर्व छात्राहरूले आफूले भोगेका अनुभव सार्वजनिक गर्न थालेपछि विद्यालय प्रशासनमाथि गम्भीर प्रश्न उठेको हो ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका विवरणमा केही पूर्व छात्राहरूले अध्ययनका क्रममा शिक्षकबाट मानसिक, मौखिक तथा यौनजन्य दुर्व्यवहार भोग्नुपरेको आरोप लगाएका छन् । पूर्व छात्राहरूका अनुसार डर, सामाजिक दबाब र विद्यालय प्रशासनबाट सहयोग नपाउने आशंकाका कारण ती घटनाबारे लामो समयसम्म बोल्न नसकेको बताएका छन् ।
एक पूर्व छात्राले परीक्षा चलिरहेका बेला शिक्षकबाट रातिको समयमा पटक–पटक फोन आउने, उत्तरपुस्तिका आफूसँग रहेको भन्दै बढी अंक दिलाइदिने प्रलोभन देखाउने तथा व्यक्तिगत तस्बिर र भिडियो कलको माग गर्ने गरिएको आरोप लगाएकी छन् । अन्य छात्राहरूले पनि शिक्षकबाट अनुचित शारीरिक स्पर्श, अशोभनीय टिप्पणी, बाटो कुरेर जिस्क्याउने, असहज सम्बोधन गर्ने तथा व्यक्तिगत विषयमा टिप्पणी गर्ने जस्ता व्यवहार सहनुपरेको दाबी गरेका छन् ।
पूर्व छात्राहरूले त्यतिबेला विद्यालय प्रशासनलाई मौखिक रूपमा जानकारी गराए पनि घटनालाई गम्भीर रूपमा नलिएको आरोप लगाएका छन् । प्रशासनबाट प्रभावकारी सुनुवाइ नभएपछि आफूहरू थप उजुरी गर्न हतोत्साहित भएको उनीहरूको भनाइ छ ।
घटना सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय बेलबारीको संयुक्त टोलीले विद्यालयका सवारी चालक ४० वर्षीय प्रदीप भट्टराई, शिक्षकहरू ३० वर्षीय किशोरलाल गच्छदार, ३५ वर्षीय अबिरल मास्के र झापा बुद्धशान्ति–७ का ३९ वर्षीय भीम नेपाललाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । प्रहरीले सामाजिक सञ्जालमा सार्वजनिक भएका विवरण, डिजिटल सामग्री र सम्बन्धित व्यक्तिहरूको बयानका आधारमा थप प्रमाण संकलन भइरहेको जनाएको छ ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कट्वालले अनुसन्धानलाई संवेदनशील रूपमा अघि बढाइएको बताउँदै पीडितको सुरक्षा, प्रमाण संरक्षण र निष्पक्ष अनुसन्धानलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो ।
विद्यालयका प्रधानाध्यापक हिक्मतबहादुर बस्नेतले यसअघि विद्यालयको इमेलमा बेनामे उजुरी आएको स्वीकार गर्नुभएको छ । तर उजुरीमा आरोपित व्यक्तिको नाम उल्लेख नभएकाले कर्मचारीसँग छलफल गर्दा त्यतिबेला आरोप पुष्टि हुने आधार नभेटिएको उहाँको भनाइ छ ।
यसैबीच सुन्दरहरैँचा नगरपालिकाले विद्यालय व्यवस्थापनलाई पत्राचार गर्दै अनुसन्धानमा सहयोग गर्न, आरोपित कर्मचारीलाई कानुनी प्रक्रियाअनुसार जिम्मेवारीबाट अलग गर्न र विद्यार्थीको सुरक्षा सुनिश्चित गर्न निर्देशन दिएको छ ।