काठमाडौं । पछिल्लो समय नेपाली राजनीतिक वृत्तमा मन्त्री फेरबदलको चर्चा चुलिरहेका बेला प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहले सरकारले तत्काल कुनै पनि मन्त्री परिवर्तन नगर्ने स्पष्ट पारेका छन् ।
केही सञ्चारमाध्यममा कार्यसम्पादन कमजोर भएका मन्त्रीहरूलाई हटाउने तयारी भइरहेको भन्ने समाचार सार्वजनिक भएपछि सल्लाहकार शाहले त्यस्ता समाचारलाई निराधार, भ्रमपूर्ण र काल्पनिक दाबी गरेका हुन् ।
उनका अनुसार प्रधानमन्त्रीले मन्त्री फेरबदल गर्ने कुनै योजना बनाएका छैनन्। सरकारका सबै मन्त्रीको कार्यसम्पादन सन्तोषजनक रहेकाले कसैलाई हटाउने वा नयाँ मन्त्री ल्याउने विषयमा कुनै छलफल नभएको उनले बताए ।
"एउटा पनि मन्त्री फेरिँदैन । बाहिर आएका सबै समाचार भ्रम मात्र हुन्। सबै मन्त्रीको कार्यसम्पादन राम्रो छ। यो मन्त्री हट्ने, त्यो मन्त्री जाने भन्ने कुरा काल्पनिक कथा मात्रै हो। त्यसबाट भ्रमित नहुनुहोस्," सल्लाहकार शाहले भने ।
उनले प्रधानमन्त्री र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच सम्बन्ध बिग्रिएको भन्ने चर्चासमेत अस्वीकार गरे । प्रधानमन्त्री र अर्थमन्त्रीबीच सुरुदेखि नै सौहार्दपूर्ण र सुमधुर सम्बन्ध रहेको उनको भनाइ छ।
शाहका अनुसार सरकार अहिले बजेट कार्यान्वयनलाई मुख्य प्राथमिकतामा राखेर अघि बढिरहेको छ । सोहीअनुसार सबै मन्त्रीहरू आ–आफ्नो मन्त्रालयको कामलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न केन्द्रित रहेको उनले बताए ।