महोत्तरी । महोत्तरीको सीमावर्ती सम्सी गाउँपालिका–५ पोखरभिण्डामा तीन वर्षीय बालक मनिकेश कुमार यादवको मृत्यु प्रकरणमा प्रहरीले एक १५ वर्षीया नाबालिकालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । कानुनी प्रावधानअनुसार प्रहरीले नाबालिकाको परिचय सार्वजनिक गरेको छैन ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार गत जेठ २२ गते साँझ करिब ५ बजे घरबाहिर खेलिरहेका बेला मनिकेश बेपत्ता भएका थिए । खोजतलासका क्रममा जेठ २४ गते साँझ करिब ५ बजे उनको शव घरनजिकै रहेको पानी पोखरीमा सिमेन्टको बोराभित्र राखिएको अवस्थामा फेला परेको थियो ।
शव फेला परेपछि बालकले लगाएको चाँदीको बाला हराएको देखिएसँगै प्रहरीले घटनाको विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको जनाएको छ ।
प्रहरीका अनुसार सूक्ष्म अनुसन्धानका क्रममा एक १५ वर्षीया नाबालिकामाथि शंका लागेपछि साउन ५ गते उनलाई नियन्त्रणमा लिएर प्रारम्भिक सोधपुछ गरिएको थियो । सोधपुछका क्रममा उनले घटनाबारे बयान दिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार नाबालिकाले दिएको बयानमा आफू साइकलमा करिब ३० किलो मल बोकेर खेततर्फ जाँदै गर्दा मुख्य सडकबाट भोला बाबा मन्दिरतर्फ जाने गल्लीको प्रवेशद्वार नजिक विपरीत दिशाबाट दौडिँदै आएका मनिकेश साइकलअगाडि आइपुगेका थिए । साइकलमा ब्रेक नभएको र पछाडि मलको भारी रहेकाले नियन्त्रण गुम्दा साइकलले बालकलाई ठक्कर दिएको तथा दुवै चक्का बालकको छातीमाथिबाट गुज्रिएको उनले बयान दिएकी छन् ।
प्रहरीका अनुसार त्यसपछि बालकको श्वासप्रश्वास जाँच गर्दा मृत्यु भइसकेको थाहा पाएपछि घटना लुकाउने उद्देश्यले नजिकै रहेको शिवम् सिमेन्टको बोरामा शव राखी करिब ३०० मिटर टाढाको पानी पोखरीमा लगेर फालेको तथा बालकले लगाएका चाँदीका दुई वटा बाला निकालेर लुकाएको बयान नाबालिकाले दिएकी छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी पञ्चलाल गोलेका अनुसार अनुसन्धानका क्रममा हराएका चाँदीका बाला र अन्य प्रमाण नाबालिकाले लुकाएको स्थानबाट कानुनबमोजिम बरामद गरिएको छ ।
प्रहरीले नाबालिकाविरुद्ध महोत्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।