सिरहा | सिरहाको नवराजपुर गाउँपालिका–४ निवासी २० वर्षीया संजना कुमारी यादवमाथि अमानवीय घरेलु हिंसा भएको आरोप सार्वजनिक भएपछि घटनाले स्थानीयस्तरमा गम्भीर चासो र आक्रोश उत्पन्न गरेको छ ।
पीडितको दाबीअनुसार सामान्य फोनमा कुराकानी गरेको विषयलाई लिएर आफूलाई शारीरिक तथा मानसिक यातना दिइएको हो । उनले मुख थुनेर, हातखुट्टा बाँधेर कुटपिट गरिएको, शरीरमा तातो फलामको रडले पोलिएको, करेन्ट लगाइएको तथा ज्यान मार्ने उद्देश्यले यातना दिइएको आरोप लगाएकी छन् ।
यस घटनाप्रति स्थानीयवासी तथा विभिन्न सरोकारवालाले गम्भीर चासो व्यक्त गर्दै निष्पक्ष छानबिनको माग गरेका छन् । उनीहरूले घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।
यदि पीडितले लगाएका आरोपहरू अनुसन्धानबाट पुष्टि भएमा यो घरेलु हिंसामात्र नभई महिला हिंसा, मानव अधिकार उल्लङ्घन तथा गम्भीर फौजदारी अपराधको विषय हुने कानुनी जानकारहरूको भनाइ छ ।
महिला हिंसा कुनै पनि सभ्य समाजका लागि अस्वीकार्य रहेको उल्लेख गर्दै सरोकारवालाले यस्ता घटनाले पीडितको जीवन, परिवार र समाजमा दीर्घकालीन नकारात्मक असर पार्ने बताएका छन् । नेपालको संविधानले महिलालाई सम्मानपूर्वक बाँच्न पाउने मौलिक अधिकार सुनिश्चित गरेको छ भने प्रचलित कानुनले महिला हिंसामा संलग्न व्यक्तिलाई कडा सजायको व्यवस्था गरेको छ ।
घटनाप्रति नेपाल प्रहरी, राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय महिला आयोग तथा महिला र बालबालिकासँग सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराउँदै सरोकारवालाले निष्पक्ष, पारदर्शी र प्रभावकारी अनुसन्धानको माग गरेका छन् ।
साथै, पीडितलाई आवश्यक स्वास्थ्य उपचार, मनोसामाजिक परामर्श, सुरक्षा तथा कानुनी सहायता उपलब्ध गराउन सम्बन्धित निकायसँग आग्रह गरिएको छ ।