नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार राणा शासनकालभन्दा पनि कठोर देखिएको आरोप लगाउनुभएको छ ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारले सर्वसाधारण तथा प्रदर्शनकारीमाथि बर्बरतापूर्ण दमन गरेको आरोप लगाउनुभयो । उहाँले वर्तमान सरकारको गतिविधि पञ्चायत र राणा शासनकालभन्दा पनि कठोर देखिएको बताउनुभयो ।
अध्यक्ष ओलीले आफूलाई निर्वाचित गरेको संसद्लाई समेत छल्ने र संसद्का निर्णयलाई नमान्ने गतिविधि संविधानविपरीत भएको जिकिर गर्नुभयो । अहिले सरकारले संविधान मिचिरहेको भन्दै संविधान संशोधनभन्दा पहिले संविधानको रक्षा गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
संविधान र लोकतन्त्रको रक्षाका लागि लोकतान्त्रिक, प्रगतिशील तथा वामपन्थी दलहरू आन्तरिक रूपमा एकताबद्ध हुन आवश्यक रहेको उहाँको भनाइ थियो । उहाँले नेपाली कांग्रेसलाई समेत आफ्नो अस्तित्व कायम राख्दै लोकतन्त्रको पक्षमा एकताबद्ध भएर अघि बढ्न सुझाव दिनुभयो ।
अध्यक्ष ओलीले प्रदेश सरकारमा देखिएको अन्योलसमेत छिट्टै हट्ने दाबी गर्दै प्रदेश तथा स्थानीय सरकार सहज रूपमा सञ्चालन हुने बताउनुभयो । कार्यक्रममा नेकपाका नेता नारायणकाजी श्रेष्ठले नेपालको राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितमाथि गम्भीर कुठाराघातको खतरा उत्पन्न भएको बताउनुभयो । उहाँले वर्तमान अवस्थामा देशभक्त शक्ति, कम्युनिस्ट तथा वामपन्थी शक्तिबीच एकता र सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा सहभागी अन्य वक्ताहरूले पनि लोकतन्त्र र संविधानको रक्षाका लागि राजनीतिक दलहरूबीच सहकार्य र एकता आवश्यक रहेको धारणा राखेका थिए ।