भारतको बिहार सरकारले माता सीताको जन्मस्थली मानिने पुनौरा धामलाई अन्तर्राष्ट्रिय धार्मिक तथा सांस्कृतिक पर्यटन केन्द्रका रूपमा विकास गर्ने महत्त्वाकांक्षी योजना अघि बढाएको छ ।
यसका लागि ‘सीता करिडोर’ निर्माण गर्ने निर्णय गर्दै मन्दिर न्यास समितिलाई ५०.८९ एकड जग्गा निःशुल्क हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाइएको छ ।
बिहार सरकारका अनुसार पुनौरा धामलाई भारतको अयोध्यास्थित श्रीराम मन्दिर र काशी विश्वनाथ धामको अवधारणाअनुसार विश्वस्तरीय धार्मिक गन्तव्यका रूपमा विकास गरिनेछ । परियोजनाको उद्देश्य धार्मिक पर्यटन प्रवर्द्धन गर्दै श्रद्धालु तथा पर्यटकलाई आधुनिक र व्यवस्थित सेवा–सुविधा उपलब्ध गराउनु रहेको छ ।
प्रस्तावित सीता करिडोर अन्तर्गत मन्दिर परिसरको सौन्दर्यीकरण, फराकिला सडक, पर्याप्त पार्किङ स्थल, यात्रु सेवा केन्द्र, धर्मशाला, होटल, हरित क्षेत्र, डिजिटल सूचना प्रणाली तथा अन्य आवश्यक पर्यटकीय पूर्वाधार निर्माण गरिनेछ ।
सरकारको विश्वास छ कि यस परियोजनाले रामायण सर्किटलाई थप सुदृढ बनाउनेछ । अयोध्या, नेपालस्थित जनकपुरधाम र पुनौरा धामलगायत रामायणकालीन धार्मिक स्थलहरूबीचको धार्मिक पर्यटनलाई थप व्यवस्थित, सहज र आकर्षक बनाउने अपेक्षा गरिएको छ ।
पर्यटन क्षेत्रका जानकारहरूका अनुसार सीता करिडोर निर्माणपछि धार्मिक पर्यटकको आगमन उल्लेखनीय रूपमा बढ्नेछ। यसबाट होटल, यातायात, हस्तकला, स्थानीय व्यापार तथा पर्यटनमा आधारित रोजगारीका नयाँ अवसर सिर्जना हुने विश्वास गरिएको छ । साथै, सीतामढी जिल्लाको स्थानीय अर्थतन्त्रलाई समेत नयाँ गति मिल्ने अपेक्षा गरिएको छ ।
परियोजनाअन्तर्गत मन्दिर न्यास समितिलाई ५०.८९ एकड जग्गा निःशुल्क हस्तान्तरण गर्ने, पुनौरा धामलाई विश्वस्तरीय धार्मिक तथा सांस्कृतिक पर्यटन केन्द्रका रूपमा विकास गर्ने तथा रामायण सर्किटलाई अन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउने लक्ष्य राखिएको बिहार सरकारले जनाएको छ ।
सरकारको यो पहलले धार्मिक पर्यटन प्रवर्द्धन, सांस्कृतिक सम्पदाको संरक्षण तथा स्थानीय आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ ।