जनकपुरधाम । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेश प्रदेशलाई चुनौती र सम्भावना दुवैको केन्द्रका रूपमा चित्रण गर्दै राष्ट्रिय स्वाधीनताको रक्षा, कम्युनिष्ट आन्दोलनको सुदृढीकरण तथा मुलुकको राजनीतिक स्थायित्वका लागि मधेशमा पार्टीलाई बलियो बनाउनु अपरिहार्य रहेको बताएका छन् ।
जनकपुरधामस्थित महेन्द्रनारायण निधि प्रतिष्ठानमा बुधबार आयोजित नेकपा मधेश प्रदेशको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा नवगठित एक हजार ३१ सदस्यीय मधेश प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरूलाई सामूहिक रूपमा शपथग्रहण गराउँदै संयोजक प्रचण्डले नेपालको राष्ट्रियता, संविधान तथा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामाथि विभिन्न कोणबाट चुनौती थपिँदै गएको वर्तमान अवस्थामा परिवर्तन पक्षधर राजनीतिक शक्तिबीच सहकार्यको विकल्प नरहेको बताए ।
उनले राष्ट्रिय हित, राजनीतिक स्थायित्व तथा लोकतान्त्रिक उपलब्धिको संरक्षणका लागि कम्युनिष्ट शक्तिहरूबीच एकता आवश्यक रहेको उल्लेख गर्दै वामपन्थी शक्तिहरूबीच ध्रुवीकरण र सहकार्यको प्रक्रिया निरन्तर अघि बढिरहेको बताए ।
प्रचण्डले भने, “कम्युनिष्ट तथा वामपन्थी शक्तिहरूबीच सहकार्य, ध्रुवीकरण र एकताको प्रक्रियालाई अगाडि बढाउने संकल्प हामीले गरेका छौँ। अहिले देश असाधारण र जटिल राजनीतिक परिस्थितिबाट गुज्रिरहेको छ। राष्ट्रिय स्वाधीनताको प्रश्न अत्यन्त संवेदनशील र चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा परिवर्तनका पक्षमा उभिएका सबै शक्तिबीच सहकार्य अपरिहार्य छ ।”
उनले शान्ति प्रक्रिया, १२ बुँदे समझदारी, संविधानसभा निर्वाचन तथा संविधान निर्माणजस्ता ऐतिहासिक उपलब्धि विभिन्न राजनीतिक दलबीचको सहकार्यबाट सम्भव भएको स्मरण गराउँदै वर्तमान परिस्थितिमा पनि त्यही सहकार्यको भावना आवश्यक रहेको बताए ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत राजनीतिक पहल जारी रहेको जानकारी दिँदै उनले आगामी दिनमा सहकार्यको दायरा अझ विस्तार गरिने बताए ।
संयोजक प्रचण्डले मधेश प्रदेशलाई जनसंख्या, भूराजनीतिक अवस्था, आर्थिक सम्भावना तथा राष्ट्रिय एकताको दृष्टिले अत्यन्त महत्वपूर्ण प्रदेशका रूपमा व्याख्या गर्दै पार्टीले यस प्रदेशलाई विशेष प्राथमिकतामा राखेको स्पष्ट पारे ।
उनले भने, “मधेश सम्भावना र चुनौती दुवैले भरिएको प्रदेश हो। यहाँ पार्टीलाई मजबुत बनाउन सक्यौँ भने समग्र कम्युनिष्ट आन्दोलनले नयाँ गति लिन्छ । यदि त्यसो गर्न सकेनौँ भने पार्टी र आन्दोलन दुवै गम्भीर चुनौतीमा पर्न सक्छन् । त्यसैले मधेश हाम्रो विशेष प्राथमिकतामा रहेको प्रदेश हो ।”
राष्ट्रिय स्वाधीनता, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि परिवर्तन पक्षधर सबै राजनीतिक शक्तिबीच साझा समझदारी आवश्यक रहेको उल्लेख गर्दै उनले कम्युनिष्ट शक्तिदेखि नेपाली कांग्रेसलगायत लोकतान्त्रिक शक्तिसँग राष्ट्रिय मुद्दामा सहकार्य हुनुपर्ने धारणा व्यक्त गरे ।
उनले वामपन्थी शक्तिहरूबीच एकताको पहल गर्ने जिम्मेवारी आफ्नो पार्टीले लिएको उल्लेख गर्दै नेकपा (एमाले)सँग समेत सहकार्य र एकताको सम्भावनाबारे संवाद जारी रहेको जानकारी दिए ।
पार्टी संगठनलाई थप प्रभावकारी र गतिशील बनाउन आगामी मङ्सिरमा हुने महाधिवेशनबाट नेतृत्वमा पुस्तान्तरणलाई प्राथमिकता दिइने जानकारी दिँदै उनले पार्टीका विभिन्न कमिटीमा कम्तीमा ५० प्रतिशत युवालाई नेतृत्वमा समेट्ने योजना रहेको बताए । युवाको सक्रिय सहभागिताबाट पार्टीलाई समयानुकूल, ऊर्जाशील र जनमुखी बनाउने लक्ष्य रहेको उनको भनाइ थियो ।
कार्यक्रममा पार्टीका सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेता मातृकाप्रसाद यादव, मधेश प्रदेश इन्चार्ज महेन्द्रराय यादव, रामचन्द्र झा, गिरिराजमणि पोखरेल तथा मधेश प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईलगायत नेताहरूको उपस्थिति रहेको थियो ।
वामपन्थी शक्तिहरूबीच एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजित कार्यक्रममा मधेश प्रदेशका आठवटै जिल्लाबाट आएका नेता तथा कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो । नेकपाले प्रदेशस्तरीय संगठन सुदृढीकरण अभियानलाई तीव्र बनाउने रणनीतिअन्तर्गत उक्त कार्यक्रम आयोजना गरेको जनाएको छ ।