सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने उत्तरी छिमेकी चीनको भ्रमणको तयारीमा जुटेका छन् । यसअघि भारत भ्रमण गरेका लामिछाने यसपटक चीन जान लागेका हुन् ।
सभापति लामिछाने आगामी अगस्टको तेस्रो साता बेइजिङ जाने तयारी भइरहेको उनको सचिवालयले जनाएको छ । यद्यपि भ्रमणको मिति भने औपचारिक रूपमा तय भइसकेको छैन ।
भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति, प्रधानमन्त्री, विदेशमन्त्री तथा चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुखलगायत उच्च अधिकारीसँग भेटवार्ता गर्ने गरी कार्यतालिका बनाइँदैछ ।
लामिछानेको चीन भ्रमणका क्रममा नेपाल–चीन द्विपक्षीय सम्बन्ध, आपसी हित, विकास परियोजनामा सहकार्य तथा आर्थिक साझेदारीका विषयमा छलफल हुने बताइएको छ । यसअघि नेपालका तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनालले चीनको भ्रमण गरी द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा छलफल गरेका थिए ।
गत फागुन २१ को निर्वाचनबाट दुईतिहाइ जनमत प्राप्त गरेको रास्वपा सभापति लामिछानेलाई चीनले यसअघि नै भ्रमणको निम्तो दिएको थियो । तर कार्यव्यस्तताका कारण उनी चीन जान सकेका थिएनन् । सरकार गठन, पार्टी महाधिवेशनलगायत गतिविधिमा व्यस्त रहेकाले भ्रमण रोकिएको बताइएको छ ।
यसअघि लामिछाने भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष नितिन नवीनको निमन्त्रणामा जेठ १८ गते भारत भ्रमणमा गएका थिए । पाँच दिने भारत भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, गृहमन्त्री अमित शाह तथा भाजपा अध्यक्ष नितिन नवीनलगायतसँग भेटवार्ता गरेका थिए ।