मधेस प्रदेशमा हालसम्म ७८ दशमलव ५९ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि विकास निर्देशनालयका अनुसार प्रदेशभर ३ लाख ५८० हेक्टरभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ भएको हो ।
निर्देशनालयको तथ्यांकअनुसार साउन ७ गतेसम्म प्रदेशका आठवटै जिल्लामा धान रोपाइँ तीव्र रूपमा भइरहेको छ । यस वर्ष पर्याप्त वर्षा भएका कारण किसान उत्साहका साथ रोपाइँमा जुटेका छन् ।
धान रोपाइँको प्रगतिमा सिरहा जिल्ला अगाडि रहेको छ । सिरहामा हालसम्म ९४ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ भने सबैभन्दा कम महोत्तरीमा ५५ प्रतिशत मात्र रोपाइँ भएको छ ।
कृषि विकास निर्देशनालयका बागवानी विकास अधिकृत किरण विश्वकर्माले यस वर्ष किसानले उन्नत जातका धानका बीउ प्रयोग गर्नुका साथै रासायनिक तथा प्राङ्गारिक मल व्यवस्थापनमा समेत ध्यान दिएको बताए ।
यद्यपि, केही स्थानका किसानले सिँचाइ पूर्वाधारको अभाव र मल उपलब्धतामा समस्या रहेको गुनासो गरेका छन् । किसानहरूले समयमै मल र आवश्यक कृषि सामग्री उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।