सहकारीको सम्पूर्ण ऋण चुक्ता गरिसके पनि घर लिलामी प्रक्रिया अघि बढाएको भन्दै सप्तरीमा एक वृद्ध दम्पतीसहित परिवारका सदस्य धर्नामा बसेका छन् ।
विष्णुपुर गाउँपालिका–६ स्थित माय जलपा बचत तथा ऋण सहकारी संस्थाबाट लिएको ऋण पूर्ण रूपमा चुक्ता गरिसकेको भए पनि सहकारीले घर लिलामी प्रक्रिया अघि बढाएको आरोप लगाउँदै पीडित जगदीश मुखिया परिवारसहित बिहीबारदेखि सहकारी कार्यालय अगाडि धर्नामा बसेका हुन् ।
मुखियाले आफूले सहकारीबाट लिएको ऋणको सम्पूर्ण रकम भुक्तानी गरिसकेको दाबी गर्दै त्यसपछि पनि घर लिलामीको प्रक्रिया अघि बढाउनु अन्यायपूर्ण भएको बताएका छन् ।
सहकारीको निर्णयप्रति असन्तुष्टि जनाउँदै वृद्ध दम्पतीसहित परिवारका सदस्यले निष्पक्ष छानबिन गरी न्याय दिलाउन सम्बन्धित निकायसँग माग गरेका छन् । पीडित मुखियाले ऋण चुक्ता भएको प्रमाण हुँदाहुँदै पनि घर लिलामी गर्न खोजिएको भन्दै सहकारीको निर्णय तत्काल सच्याउन आग्रह गरेका छन् ।
यस विषयमा सहकारी संस्थाको प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन ।