गुडिरहेको बुलेट मोटरसाइकलको पछाडि उभिएर भिडियो खिचेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि सिरहा–१ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य बब्लु गुप्तालाई ट्राफिक प्रहरीले जरिबाना गरेको छ ।
सार्वजनिक पदमा रहेका व्यक्तिले नै सडक सुरक्षासम्बन्धी नियम उल्लङ्घन गरेको भन्दै आलोचना भएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले सांसद गुप्तालाई ५ सय रुपैयाँ जरिबाना गरेको हो ।
सांसद गुप्ता स्वयं लहानस्थित ट्राफिक प्रहरी कार्यालय पुगेर जरिबाना रकम बुझाएका हुन् । घटनापछि चौतर्फी आलोचना भएपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत क्षमायाचना गरेका छन् । गुप्ताले बाल्यकालका सम्झना र रमाइलोको क्षणमा नजानिँदो रूपमा गल्ती भएको भन्दै सार्वजनिक रूपमा माफी मागेका हुन् ।
उनले लेखेका छन्, “खुसी र रमाइलोको क्षणमा मजाक–मजाकमै मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाउँदा मैले ट्राफिक नियम उल्लङ्घन गरेको रहेछु भन्ने कुरा मैले आफैं महसुस गरेको छु ।” उनले आगामी दिनमा आफ्नो ऊर्जा देश र जनताको हितमा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गर्दै आफूबाट जानी वा नजानी भएको गल्तीप्रति क्षमा मागेका छन् ।
घटनाले सार्वजनिक पदमा रहेका व्यक्तिले समेत कानुनको समान पालना गर्नुपर्ने विषयमा बहस सिर्जना गरेको थियो ।