रौतहट निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि कालो मसी प्रहार गरी दुर्व्यवहार गरिएको छ ।
गढीमाई नगरपालिका–७, पर्सामा आयोजित ‘जनतासँग भेटघाट कार्यक्रम’ सकेर फर्किने क्रममा बिहीबार राति उनीमाथि कालो मसी प्रहार गरिएको हो । घटनाको पुष्टि स्वयं सांसद पौडेलले गरेका छन् । उनका अनुसार स्थानीय नागरिकका समस्या, मलखादको अभावलगायत विषयमा छलफल गर्न कार्यक्रम आयोजना गरिएको थियो । छलफलमा केही ढिलाइ भएपछि कार्यक्रम राति करिब ८ बजेदेखि सवा ८ बजेको बीचमा सकिएको थियो ।
कार्यक्रम सकेर फर्किने क्रममा मास्क लगाएका दुई–तीन जना व्यक्तिले पछाडिबाट आएर आफूमाथि कालो मसी प्रहार गरेको सांसद पौडेलले बताएका छन् । उनका अनुसार ती व्यक्तिहरू अगाडिबाट नआएको र आफूहरू फर्किने तयारीमा रहेका बेला पछाडिबाट नजिक आएर चिनजानको व्यक्तिले अँगालो हालेजस्तो गरी ढाडमा कालो मसी वा कालो पदार्थ दलेर भागेका थिए ।
कालो मसी प्रहार गर्ने समूहले हातमा रातो झण्डा र पर्चा बोकेको तथा उनीहरू ‘मधेश मुक्ति अभियान’सँग आबद्ध रहेको सांसद पौडेलले दाबी गरेका छन् । घटनापछि कार्यक्रममा उपस्थित सहयोगी तथा स्थानीयवासीले उनीहरूलाई पछ्याउने प्रयास गरे पनि अँध्यारो भएका कारण उनीहरू फरार भएको पौडेलले बताएका छन् ।
घटनालगत्तै प्रहरीलाई जानकारी गराइएको र प्रहरीले संलग्न व्यक्तिहरूको खोजी गरिरहेको जनाइएको छ । सांसद पौडेलका अनुसार प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घटनामा संलग्न मुख्य व्यक्तिको पहिचान भइसकेको छ । ‘फगु’ वा ‘फुगु’ नामले चिनिने एक व्यक्तिको पहिचान भएको बुझिए पनि हालसम्म कसैलाई पक्राउ नगरिएको पौडेलले बताएका छन् ।
प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको खोजी तथा अनुसन्धान जारी राखेको जनाएको छ ।