काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले अपराध नियन्त्रण तथा सम्भावित आपराधिक गतिविधिको निगरानी प्रभावकारी बनाउन १ हजार ८ सय ७१ जनाको ‘क्रिमिनल प्रोफाइलिङ’ तयार गरेको जनाएको छ ।
परिसरका अनुसार गुण्डागर्दी, तस्करी, लागुऔषध कारोबार, कर्तव्य ज्यान, ठगी, चोरी तथा अन्य जघन्य अपराधमा यसअघि संलग्न रहेका र भविष्यमा पनि अपराधमा संलग्न हुन सक्ने जोखिम मूल्याङ्कनका आधारमा उनीहरूको प्रोफाइलिङ तयार गरिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईले प्रोफाइलिङमा समेटिएका व्यक्तिहरू विगतमा विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको पृष्ठभूमिका आधारमा छनोट गरिएको जानकारी दिए ।
उनका अनुसार पुराना घटनामा संलग्न भइसकेका तथा पुनः आपराधिक गतिविधिमा संलग्न हुन सक्ने जोखिम र पहिचान भएका व्यक्तिहरूलाई समेटेर ‘क्रिमिनल प्रोफाइलिङ’ तयार गरिएको हो ।
प्रहरीले यस्तो प्रोफाइलिङले सम्भावित अपराधको रोकथाम, शंकास्पद व्यक्तिको निगरानी तथा अनुसन्धानलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरेको छ ।