काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले पार्टीको प्राथमिकता सरकार बनाउने नभई साझा न्यूनतम कार्यक्रमका आधारमा आन्दोलनलाई अघि बढाउने रहेको बताएका छन् ।
शुक्रबार पुष्पलाल स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले अहिले सरकार सञ्चालनभन्दा राष्ट्रिय स्वाधीनता र जनताको हक–अधिकारको रक्षाका लागि आन्दोलन आवश्यक रहेको बताए ।
प्रचण्डले २०८४ सालको स्थानीय तह र प्रदेशसभा निर्वाचनपछि मात्रै सरकार गठनबारे सोच्ने स्पष्ट पार्दै अहिले कांग्रेस र एमालेले नै सरकार सञ्चालन गरिरहनुपर्ने धारणा राखे ।
उनले विगतमा विभिन्न दलसँग सहकार्य गर्दै लामो समय बितेको स्मरण गर्दै त्यसले जनतामा समेत भ्रम सिर्जना गरेको टिप्पणी गरे ।
‘हामीले कहिले कांग्रेससँग सहकार्य, कहिले एमालेसँग, कहिले मधेसीसँग भन्दाभन्दै हाम्रा दिनहरू त्यसैमा बिते। जनता भ्रमित पनि त्यसैमा भए,’ उनले भने ।
उनका अनुसार नेकपाको वर्तमान प्राथमिकता साझा न्यूनतम कार्यक्रम तयार गरेर आन्दोलनलाई प्रभावकारी बनाउनु हो । ‘हाम्रो लागि साझा न्यूनतम कार्यक्रम बनाउने र आन्दोलनमा जाने कुरा मुख्य हो। त्यसकारण हाम्रो ध्यान सरकारतिर छैन,’ उनले स्पष्ट पारे ।
प्रदेश सरकारको प्रसंग उल्लेख गर्दै प्रचण्डले सुरुदेखि नै कांग्रेस–एमालेलाई सबै प्रदेशमा सरकार सञ्चालन गर्न आग्रह गरिएको भए पनि बजेट निर्माणका क्रममा दुवै दलबीच उत्पन्न विवादका कारण प्रदेश सरकार संकटमा परेको बताए ।
उनले बजेट पारित हुन नसक्ने अवस्था सिर्जना भएपछि प्रदेशलाई अन्योलमा जान नदिन आफ्नो पार्टीले जिम्मेवारीबोधका साथ आवश्यक भूमिका निर्वाह गर्नुपर्ने बाध्यता आएको बताए ।
‘हामीले सुरुदेखि नै कांग्रेस र एमालेको सरकार सबै प्रदेशमा छ, तपाईंहरू चलाइराख्नुस्, हामीलाई चाहिँदैन भनेका थियौँ । तर बजेटको बेलामा कांग्रेस र एमालेबीच यस्तो रडाको पर्यो कि बजेट पास गर्नै नसक्ने अवस्था आयो,’ उनले भने ।
प्रचण्डले सरकारमा सहभागी भएपछि मात्रै वामपन्थी सहकार्य सम्भव हुन्छ भन्ने धारणा आफूलाई स्वीकार्य नरहेको पनि बताए । यद्यपि प्रदेश, संविधान वा राष्ट्रिय राजनीतिमा गम्भीर अवरोध उत्पन्न भए त्यसलाई समाधान गर्न आवश्यक सहयोग गर्न नेकपा तयार रहेको उनको भनाइ थियो ।