बारा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रासायनिक मलको अभाव समाधान गर्न नसकेको भन्दै कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीको तत्काल राजीनामा माग गरेका छन् ।
आम किसान मोर्चाले शुक्रबार बाराको कलैयामा आयोजना गरेको ‘मलखादको हाहाकार : आपूर्तिमा असफल सरकार’ विषयक कार्यक्रममा बोल्दै साहले धान रोपाइँको मुख्य समयमा पनि किसानले पर्याप्त रासायनिक मल नपाउनु सरकारको गम्भीर असफलता भएको बताए ।
उनले कृषिप्रधान मुलुकमा किसानले समयमै मल नपाउनु दुःखद भएको उल्लेख गर्दै किसानलाई आवश्यक मल उपलब्ध गराउन नसक्ने मन्त्री पदमा बसिरहन नैतिक रूपमा योग्य नरहेको टिप्पणी गरे ।
“कृषिप्रधान देशमा धान रोपाइँको समयमा किसानले मल पाएका छैनन्। किसानलाई मल उपलब्ध गराउन नसक्ने मन्त्रीलाई पदमा बस्ने नैतिक अधिकार छैन । असफल कृषि मन्त्रीले तत्काल राजीनामा दिनुपर्छ,” उनले भने ।
साहले दुईतिहाइ बहुमतको सरकार भए पनि किसानले सरकार भएको अनुभूति गर्न नसकेको दाबी गर्दै किसानका समस्या समाधान गर्नु सरकारको पहिलो दायित्व भएको बताए ।
उनले सरकारले किसानलाई सहज रूपमा रासायनिक मल उपलब्ध गराउन नसकेको आरोप लगाउँदै भारतबाट मल ल्याउन खोज्ने किसानलाई समेत दुःख दिने कार्य स्वीकार्य नहुने बताए ।
तराई–मधेससहित देशभरका किसान मल अभावबाट पीडित रहेको उल्लेख गर्दै उनले सरकार किसानप्रति गैरजिम्मेवार बनेको आरोप लगाए। छिमेकी मुलुकबाट ल्याइएको मलसमेत नियन्त्रण गर्ने कार्यले किसानलाई थप समस्यामा पारेको उनको भनाइ थियो ।
त्यस्तै, चुनावका बेला ठूला–ठूला प्रतिबद्धता गर्ने तर सरकारमा पुगेपछि युवा, विद्यार्थी र किसानका समस्या समाधान गर्नुको सट्टा सरकार तमासे बनेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।
आम किसान मोर्चा बाराका अध्यक्ष मदन साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आजपा नेता अशोक लामा, संविधानसभा सदस्य तथा आजपा नेता आत्माराम साहलगायतको सहभागिता रहेको थियो ।
.jpg)
.jpg)
.jpg)
.jpg)