प्रहरीले धनुषामा हवाई फायर गरेर दुई जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ ।
लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय ढल्केवरको संयुक्त टोलीले शुक्रबार ढल्केवरस्थित पुल नजिक हवाई फायर गरी उनीहरूलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) मधुसुदन न्यौपानेका अनुसार पक्राउ परेका उनीहरूको साथबाट ९५ दशमलव ५९० ग्राम खैरो हेरोइन बरामद भएको छ ।
पक्राउ पर्नेमा भारतका २८ वर्षीय सन्तोषकुमार महतो र ४५ वर्षीय मिथिलेश साहु रहेका छन् । उनीहरूलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले हवाई फायर गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।