गुणस्तरहीन तथा मापदण्डविपरीत खाद्य पदार्थ उत्पादन र बिक्री गरेको आरोपमा मधेस प्रदेशका ६२ उद्योगी–व्यवसायीविरुद्ध मुद्दा दायर गरिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा सङ्कलन गरी परीक्षण गरिएका खाद्य नमुनामा कैफियत देखिएपछि सम्बन्धित जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालयमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम मुद्दा दायर गरिएको हो ।
कार्यालय प्रमुख विमलकुमार दाहालका अनुसार बारा र पर्साका ५१, महोत्तरीका सात, सर्लाही र रौतहटका तीन–तीन तथा धनुषाका एक उद्योगी–व्यवसायीविरुद्ध मुद्दा दायर गरिएको छ । त्यस्तै, सप्तरी र सिरहाका तीन तथा धनुषाका दुई गरी थप पाँच उद्योगी–व्यवसायीविरुद्ध खाद्य स्वच्छता कायम नगरेको तथा खाद्य पदार्थमा मिसावट गरेको आरोपमा मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ ।
अनुगमनका क्रममा सङ्कलन गरिएका नमुना परीक्षण गर्दा स्वास्थ्यका लागि हानिकारक पदार्थ मिसावट गरिएको, म्याद गुज्रिएका खाद्य वस्तु बिक्री गरिएको तथा खाद्य गुणस्तरसम्बन्धी मापदण्ड उल्लङ्घन भएको पाइएपछि कानुनी कारबाही अघि बढाइएको प्रमुख दाहालले बताउनुभयो । आर्थिक वर्ष २०८२/८३ मा मधेस प्रदेशका विभिन्न जिल्लाबाट कानुनबमोजिम ५७८, उत्पादकको आग्रहमा १ हजार २२८, सरकारी निकायबाट प्राप्त २० सहित कुल ४ हजार ५५९ वटा खाद्य नमुना सङ्कलन गरिएको थियो । तीमध्ये ३५ वटा नमुनामा प्रतिकूल नतिजा देखिएको र १० वटा नमुनामा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ ।
सोही अवधिमा ५१० वटा ताजा फलफूल तथा तरकारीमा विषादी परीक्षण र ३१० वटा स्वच्छता सर्भिलेन्स गरिएको प्रमुख दाहालले जानकारी दिनुभयो ।
खाद्य स्वच्छता प्रवर्द्धनका लागि कार्यालयले धनुषामा ६० पटक अनुगमन गरी २५० वटा होटल तथा रेष्टुरेन्टको निरीक्षण गरेको जनाएको छ। यस अवधिमा १२१ उद्योगलाई अनुज्ञापत्र जारी, ३०७ उद्योगको अनुज्ञापत्र नवीकरण तथा ३४७ उद्योगका लागि सिफारिस गरिएको छ ।
नमुना परीक्षण, अनुज्ञापत्र जारी तथा नवीकरण र उद्योग सिफारिसलगायतका सेवाबाट कार्यालयले ३८ लाख ३६ हजार १७० रुपैयाँ राजस्व सङ्कलन गरेको प्रमुख दाहालले बताउनुभयो ।
गत असारमा मात्रै अनुगमन टोलीले धनुषाका ४४ वटा होटल तथा रेष्टुरेन्टमा गरेको निरीक्षणका क्रममा १२ वटामा कैफियत भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम ४ लाख २० हजार रुपैयाँ जरिवाना गरिएको थियो । त्यस्तै, सर्लाहीका २४ वटा होटलमा गरिएको अनुगमनका क्रममा १७ वटामा कैफियत भेटिएपछि ६ लाख ६७ हजार रुपैयाँ जरिवाना गरिएको कार्यालयले जनाएको छ ।
अनुगमन तथा निरीक्षणका क्रममा म्याद गुज्रिएका, लेबल विवरण नभएका, सडेगलेका तथा अन्य अखाद्य वस्तु जफत गरी सम्बन्धित सरोकारवालाको रोहबरमा नष्ट गरिएको कार्यालयले जनाएको छ ।