रौतहट । गत भदौमा भएको ‘जेनजी’ आन्दोलनका क्रममा रौतहटस्थित गौर कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार जबरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा अदालतबाट २० वर्ष कैद सजाय पाएका रौतहटको कटहरिया नगरपालिका–७ निवासी ३० वर्षीय प्रभु माझीलाई पक्राउ गरिएको हो । उनी सजाय भुक्तानका क्रममा गत भदौ २४ गते गौर कारागारबाट फरार भएका थिए ।
जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय शिवनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाका आधारमा खोजतलास गर्ने क्रममा कटहरिया नगरपालिका–७ बगहीबाट उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त गौतमले जानकारी दिए ।
प्रहरीका अनुसार पक्राउ परेका माझीलाई बाँकी कैद भुक्तानका लागि गौर कारागार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको छ ।
वि.सं. २०६८ फागुन २५ गते रौतहटको कटहरिया नगरपालिका–७ स्थित पोखरीको डिलमा पाँच वर्षीया बालिकामाथि जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा सर्वोच्च अदालतले माझीलाई २० वर्ष कैद सजायको फैसला सदर गरेको थियो । त्यसपछि उनी गौर कारागारमा कैद भुक्तान गरिरहेका थिए ।