काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहने भएकाले आगामी साताभर अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहनेछ भने साताको अन्त्यतिर नेपालको पश्चिमी भू–भागमा यो रेखा सरदर स्थानभन्दा उत्तरतर्फ सर्ने सम्भावना छ ।
हिमाली क्षेत्रमा कोशी, बागमती र गण्डकी प्रदेशमा साताको सुरु र अन्त्यमा एक–दुई स्थान तथा मध्यतिर केही स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ । लुम्बिनी र कर्णाली प्रदेशमा साताको मध्यतिर तथा सुदूरपश्चिम प्रदेशमा साताको मध्य र अन्त्यतिर पनि एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
पहाडी क्षेत्रमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा साताभर हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ । यी प्रदेशका केही स्थानमा भारी तथा एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने विभागले जनाएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि साताको मध्य र अन्त्यतिर धेरै स्थानमा वर्षा हुने सम्भावना छ ।
तराई क्षेत्रमा साताको सुरुमा केही स्थानमा तथा मध्य र अन्त्यतिर धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा साताको सुरु र अन्त्यमा एक–दुई स्थान तथा मध्यतिर केही स्थानमा भारी वर्षाको सम्भावना छ । मधेश प्रदेशमा साताको मध्यतिर तथा सुदूरपश्चिम प्रदेशमा साताको मध्य र अन्त्यतिर पनि केही स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ ।
विभागका अनुसार आगामी साताभर देशभर अधिकतम र न्यूनतम तापक्रममा उल्लेखनीय परिवर्तन हुने सम्भावना भने छैन ।