संघीय सरकारकी कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले रासायनिक मलको आपूर्ति अवस्था क्रमशः सहज हुँदै गएको बताएकी छन् ।
धनुषामा सञ्चालित विभिन्न राष्ट्रिय कृषि आधुनिकीकरण आयोजनाको निरीक्षण गर्दै मन्त्री चौधरीले अन्तर्राष्ट्रिय परिस्थितिका कारण केही समय मल आपूर्तिमा समस्या देखिए पनि अहिले विभिन्न नाकाबाट पर्याप्त मात्रामा मल नेपाल भित्रिरहेको जानकारी दिएका छन । उनले मौज्दात रहेको मल किसानसम्म पुर्याउने काम भइरहेको बताउँदै यही महिनाको १५ गतेभित्र मल आपूर्ति थप सहज हुने दाबी गरेकी छन् ।
लक्ष्मिनियामा आयोजित किसानसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्री चौधरीले रासायनिक मल र विषादीको प्रयोग घटाउँदै प्राङ्गारिक मलको प्रयोग बढाउनुपर्नेमा जोड दिदै माटोको उर्वराशक्ति, वातावरण र मानव स्वास्थ्य संरक्षणका लागि प्राङ्गारिक खेतीलाई अभियानका रूपमा अघि बढाउनुपर्ने बताएकी छिन् ।
अत्यधिक रासायनिक मल तथा विषादीको प्रयोगका कारण खेतबारीको जैविक विविधता प्रभावित हुँदै गएको उल्लेख गर्दै उनले विगतमा पाइने माछा तथा अन्य जीवजन्तु हराउँदै गएको बताए । “हामीले खाने अन्नसँगै विषादी पनि खाइरहेका छौँ । त्यसैले रासायनिक मलको प्रयोग कम गर्दै प्राङ्गारिक मलतर्फ किसानलाई आकर्षित गर्न अभियान आवश्यक रहेकाे मन्त्री गीता चौधरी बताइन ।
उनले किसानले प्राङ्गारिक खेती विस्तार गर्न चाहेमा सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै राष्ट्रिय कृषि आधुनिकीकरण आयोजना, प्रदेश सरकार तथा सम्बन्धित निकायसँग समन्वय गरी कार्यक्रम सञ्चालन गरिने जानकारी दिए । मन्त्री चौधरीले कृषि आयोजनाको प्रभावकारिता, किसानले पाएको लाभ तथा दीर्घकालीन सुधारका सम्भावना बुझ्न स्थलगत निरीक्षण गरिएको जानकारी गराएका थिइन् ।
मन्त्री चौधरीले चुरे संरक्षण तथा जल पुनर्भरणका कार्यक्रम पनि वैज्ञानिक अध्ययनका आधारमा अघि बढाइने बताएका छन् । चुरे क्षेत्रमा विज्ञको प्राविधिक मूल्याङ्कनका आधारमा बजेट विनियोजन गरिएको उल्लेख गर्दै जल पुनर्भरण सम्भावित क्षेत्रमा प्राथमिकताका साथ कार्यक्रम सञ्चालन गरिने उनको भनाइ थियो ।