नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रदेश सरकार गठनमार्फत सहकार्य अघि बढाउने सहमति भएको छ । दुवै नेताले यस सहकार्यलाई आगामी दिनमा पार्टी एकताको आधारका रूपमा विकास गर्ने रणनीति बनाएको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार प्रदेश सरकारमा सहकार्य गर्दै आगामी स्थानीय तह तथा प्रदेश निर्वाचनपछि कार्यगत एकतालाई पार्टी एकताको तहसम्म पुर्याउने उद्देश्यसहित तीनबुँदे समझदारी भएको हो । यसका लागि दुवै नेताबीच लामो समयदेखि छलफल भइरहेको थियो भने पृष्ठभूमिमा नेता वर्षमान पुनलगायतले समन्वय गरिरहेका थिए ।
शुक्रबार नै सहमतिमा हस्ताक्षर गर्ने तयारी भए पनि दुवै दलभित्र आन्तरिक सहमति नजुटेका कारण प्रक्रिया एक दिन पछि सरेको बताइएको छ । एमालेभित्र भने पुनर्गठनको बहस तीव्र बनेको छ । उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको कार्यदलले प्रतिवेदन अन्तिम रूप दिने तयारी गरिरहेको भए पनि प्रतिवेदनको निष्कर्षलाई लिएर नेताहरूबीच मतभेद देखिएको छ ।
उपाध्यक्ष विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ तथा महासचिव शंकर पोखरेललगायत नेताहरूले पुनर्गठनको स्पष्ट खाका प्रतिवेदनमा समेटिनुपर्ने धारणा राख्दै आएका छन् । उनीहरूको मतमा प्रदेश, जनसंगठन तथा पार्टीका विभिन्न निकायबाट आएको सुझावलाई बेवास्ता गर्न नहुने उल्लेख गरिएको छ । तर कार्यदल संयोजक बादल भने पुनर्गठनलाई निष्कर्षका रूपमा प्रतिवेदनमा समेट्न नहुने पक्षमा रहेका कारण प्रतिवेदन टुंगिन ढिलाइ भएको बताइन्छ ।
यही आन्तरिक विवादका कारण ओली–प्रचण्ड सहमतिमा पनि केही प्रभाव परेको थियो । पुनर्गठनको बहस ओझेलमा पर्ने गरी सहकार्य गर्न नहुने अडान पौडेल र पोखरेल पक्षको रहेको स्रोतको दाबी छ । यसैबीच अध्यक्ष ओलीले विष्णु पौडेल र शंकर पोखरेलसँग छुट्टाछुट्टै छलफल गरी प्रदेश सरकार गठन र बजेट कार्यान्वयनका विषयमा मात्रै सहकार्य केन्द्रित हुने आश्वासन दिएपछि शनिबार नेता वर्षमान पुनको नखिपोटस्थित निवासमा भएको सहमतिमा उपाध्यक्ष पौडेल सहभागी भएका थिए । महासचिव पोखरेल भने उक्त कार्यक्रममा उपस्थित भएनन् ।
उता नेकपाका सहसंयोजक माधवकुमार नेपाल भने ओलीसँगको सहकार्यप्रति असन्तुष्ट रहेको बताइएको छ। स्रोतका अनुसार उनले प्रदेशमा कांग्रेससहितको सरकार गठनको पक्षमा धारणा राख्दै आएका थिए र कांग्रेस नेताहरूसँग समेत छलफल गरिरहेका थिए । यद्यपि पूर्व एकीकृत समाजवादी समूहका नेताहरू सहमतिमा सहभागी नभए पनि झलनाथ खनाल र वामदेव गौतमलगायत नेताले वामपन्थी सहकार्यलाई सकारात्मक रूपमा लिएको बताइएको छ ।
सहमतिअनुसार कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपाले गर्ने, लुम्बिनी, बागमती र कोशी प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने समझदारी भएको छ । गण्डकी प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग थप छलफल गर्ने र मधेश प्रदेशमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)लाई सरकारको नेतृत्व दिने विषयमा पनि दुवै पक्ष सहमत भएको स्रोतले जनाएको छ ।