प्रतिबन्धित लागूऔषध नियन्त्रणका लागि प्रहरीले मधेस प्रदेशमा विशेष अभियान सञ्चालन गरेपछि लागूऔषध सेवनकर्ता तथा कारोबारी पक्राउ पर्ने क्रम बढेको छ ।
लागूऔषधविरुद्धको अभियानअन्तर्गत प्रहरीले नियमित जाँच तथा निगरानीलाई कडाइ गरेपछि मधेस प्रदेशका आठवटै जिल्लामा गाँजा, चरेस, अफिम, ब्राउन सुगरलगायत लागूऔषधको कारोबार तथा सेवनमा संलग्न व्यक्ति पक्राउ पर्न थालेका हुन् । प्रहरीले संगठित अपराध तथा लागूऔषधविरुद्धको अभियान सञ्चालन गर्दै ठूलो परिमाणमा लागूऔषधसमेत बरामद गर्दै आएको जनाएको छ ।
मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्ला तीन आर्थिक वर्षमा प्रदेशका विभिन्न जिल्लाबाट लागूऔषधसहित २ हजार ८११ जना पक्राउ परेका छन् । सो अवधिमा लागूऔषधसम्बन्धी २ हजार १२१ वटा मुद्दा दर्ता भएका छन्। पक्राउ पर्नेमा २ हजार ५५४ नेपाली, २५३ भारतीय र एक जना विदेशी नागरिक रहेका छन् ।
गत आर्थिक वर्षमा मात्रै प्रहरीले लागूऔषधसहित ७८६ नेपाली, ८४ भारतीय र एक विदेशी गरी ८७१ जनालाई पक्राउ गरेको छ। सो अवधिमा लागूऔषधसम्बन्धी ६३० वटा मुद्दा दर्ता भएका छन् ।
प्रहरीका अनुसार उक्त अवधिमा १५ हजार ३८२ किलोग्राम गाँजा, ५१६ ग्राम ब्राउन सुगर, २७२ किलोग्राम चरेस, तीन किलोग्राम अफिम, २ हजार ८३१ ग्राम हिरोइन, ४ लाख ७३ हजार ४८५ वटा ट्याब्लेट, २ हजार ११८ सिरफ र १८ हजार १२५ वटा इन्जेक्सन बरामद गरिएको छ ।
यसैगरी, आर्थिक वर्ष २०८१/८२ मा लागूऔषधसहित ८३६ जना पक्राउ परेका थिए भने ५८५ वटा लागूऔषधसम्बन्धी मुद्दा दर्ता भएका थिए। उक्त अवधिमा १६ हजार ५७३ किलोग्राम गाँजा, ६१ ग्राम ब्राउन सुगर, ५०५ किलोग्राम चरेस, ४५ किलोग्राम अफिम, २ हजार ७०५ ग्राम हिरोइन, ३ लाख ७० हजार ४४२ वटा ट्याब्लेट, ७ हजार ५०४ सिरफ र ६१ हजार ३३३ वटा इन्जेक्सन बरामद भएको प्रहरीले जनाएको छ ।
त्यसअघि आर्थिक वर्ष २०८०/८१ मा मधेस प्रदेशबाट लागूऔषधसहित १ हजार १०४ जना पक्राउ परेका थिए भने ७९७ वटा लागूऔषधसम्बन्धी मुद्दा दर्ता भएका थिए । सो आर्थिक वर्षमा ८ हजार ५३९ किलोग्राम गाँजा, ५९४ ग्राम ब्राउन सुगर, १२१ किलोग्राम १४६ ग्राम चरेस, एक ग्राम अफिम, १ हजार १३१ ग्राम ७ मिलिग्राम हिरोइन, ४९ हजार ८८८ वटा ट्याब्लेट, ३ हजार ४१६ सिरफ र ५४ हजार ४०४ वटा इन्जेक्सन बरामद गरिएको थियो ।
प्रहरीका अनुसार खुला सीमाको फाइदा उठाउँदै नेपाल–भारत सीमा जोडिएका विभिन्न नाकाबाट लागूऔषध नेपाल भित्रिने गरेको छ । सीमावर्ती भारतीय बजारमा पुगेर लागूऔषध सेवन तथा खरिद गरी नेपाल ल्याउने युवाको संख्या पनि बढ्दो रहेको प्रहरीले जनाएको छ ।
मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायब महानिरीक्षक ओमप्रसाद अधिकारीका अनुसार सीमा नाकामा आवतजावत गर्ने युवालाई लक्षित गरी चेकजाँच कडा पारिएपछि उनीहरूको साथबाट विभिन्न प्रकारका लागूऔषध बरामद हुने गरेको छ ।
लागूऔषध सेवन तथा कारोबारको आरोपमा पक्राउ पर्नेमा अधिकांश २० देखि ३० वर्ष उमेर समूहका युवा रहेको प्रहरीले जनाएको छ । अभिभावकको निगरानीबाट टाढा रहेका, पढाइ छाडेका तथा रोजगारी नपाएर फुर्सदमा रहेका युवा साथीहरूको बहकाउमा परी लागूऔषधको दुर्व्यसनमा फस्ने गरेको प्रहरी नायब महानिरीक्षक अधिकारीले बताए ।
उनका अनुसार पछिल्लो समय बालबालिका, किशोरकिशोरी र महिलासमेत लागूऔषधको दुर्व्यसनमा फसेको भेटिन थालेका छन् । लागूऔषध दुर्व्यसनबाट जोगिन अभिभावक, विद्यालय, शिक्षक तथा परिवारका सदस्य सबै सचेत हुनुपर्नेमा उनले जोड दिएका छन् ।