बाराको जितपुरसिमरा उपमहानगरपालिका–७ टेढा रोडस्थित भित्री सडकखण्डमा आइतबार दिउँसो विद्युतीय (ईभी) कार अनियन्त्रित भएर दुर्घटना भएको छ ।
टेढाबाट जितपुरतर्फ आउँदै गरेको बा.प्र. ०१–०३१च ३८८० नम्बरको ईभी कार आफैँ अनियन्त्रित भई सडक छेउमा रहेको रोहित एण्ड प्रियंका किराना पसल अगाडि राखिएका चामलका बोरा तथा प्रभात ज्वेलर्समा ठोक्किएको हो । दुर्घटनामा मानवीय क्षति नभए पनि पसल अगाडि राखिएका १२ बोरा चामल र प्रभात ज्वेलर्सको काउन्टरमा क्षति पुगेको प्रहरीले जनाएको छ । ठक्करबाट ईभी कारको अगाडिको भागमा समेत पूर्ण रूपमा क्षति पुगेको छ ।
घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय जितपुरबाट प्रहरी सहायक निरीक्षक तेजनारायण बैठाको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो । कार चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ निवासी करिब ५० वर्षीय अशोककुमार अधिकारी इलाका प्रहरी कार्यालय सिमराको सम्पर्कमा आएका छन् । दुर्घटनाग्रस्त ईभी कारलाई इलाका प्रहरी कार्यालय जितपुरले नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिएका छन् ।