सिराहा । सिराहाको भगवानपुर गाउँपालिका–४ स्थित भगवानपुर स्वास्थ्य चौकी परिसरमा सर्पले टोकेका चार वर्षीय बालकको उपचारका क्रममा मृत्यु भएपछि स्थानीयवासी आन्दोलित भएका छन् ।
स्वास्थ्य चौकीको लापरबाहीका कारण बालकको ज्यान गएको आरोप लगाउँदै स्थानीयले शनिबार भगवानपुर चोकमा टायर बालेर सडक अवरुद्ध गरेका हुन् ।
मृत्यु हुने बालक भगवानपुर गाउँपालिका–४ निवासी रोशनकुमार मण्डल हुन् । शुक्रबार दिउँसो करिब १२ बजे उनी आफ्नी आमा सुलेखा मण्डलसँग उपचारका लागि स्वास्थ्य चौकी पुगेका थिए। सोही क्रममा स्वास्थ्य चौकी परिसरमा खेलिरहेका बेला उनलाई सर्पले टोकेको बताइएको छ ।
स्थानीयका अनुसार सर्पदंशपछि बालकलाई तत्काल लहानस्थित अस्पताल लैजानुपर्ने अवस्था भए पनि स्वास्थ्य चौकीमा रहेको एम्बुलेन्स समयमै उपलब्ध गराइएन । एम्बुलेन्स चालकले गाउँपालिका अध्यक्ष उग्रनारायण यादवको निर्देशन नआएसम्म एम्बुलेन्स चलाउन नमिल्ने अडान लिएको आरोप स्थानीयले लगाएका छन् ।
एम्बुलेन्स नपाएपछि बालकलाई सिटी रिक्सामा राखेर करिब १२ किलोमिटर टाढाको लहान अस्पतालतर्फ लगिँदै गर्दा विष शरीरभर फैलिएकाले बाटोमै उनको मृत्यु भएको स्थानीयको दाबी छ ।
भगवानपुर गाउँपालिका–४ का वडाध्यक्ष रामकुमार यादवले स्वास्थ्य चौकीको सरसफाइमा पर्याप्त ध्यान नदिइनु तथा समयमै एम्बुलेन्स उपलब्ध नगराउनु व्यवस्थापकीय कमजोरी भएको स्वीकार गर्दै स्थानीयको आन्दोलन जायज रहेको बताए ।
यता, स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट राजेश यादवले भने बालकलाई सर्पले टोकेको वा विद्युतीय करेन्ट लागेको भन्ने विषय यकिन गर्न केही समय लागेको दाबी गरे । उनका अनुसार एम्बुलेन्स तयारीकै क्रममा रहेका बेला बालककी आमाले आफैँ सिटी रिक्सामा राखेर लहान अस्पतालतर्फ लगेको बताए ।
गाउँपालिका अध्यक्ष उग्रनारायण यादवको उपस्थितिमा घटनाबारे छानबिनका लागि बैठक बसिरहेको जनाउँदै त्यसको निष्कर्षपछि मात्रै थप प्रतिक्रिया दिने हेल्थ असिस्टेन्ट यादवले जानकारी दिए ।
घटनापछि स्वास्थ्य चौकीको व्यवस्थापन र आपत्कालीन स्वास्थ्य सेवामाथि प्रश्न उठेको छ भने स्थानीयले निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।