बारा । बाराको निजगढस्थित द्रुतमार्गको जीरो किलोमिटर क्षेत्रनजिक गोली लागेको अवस्थामा एउटा पोथी हरिण मृत फेला परेको छ । वन्यजन्तुमाथि गोली प्रहार भएको आशंकापछि डिभिजन वन कार्यालय बाराले घटनाबारे अनुसन्धान सुरु गरेको छ ।
डिभिजन वन कार्यालय बाराका अनुसार करिब डेढ वर्ष उमेरको उक्त पोथी हरिणको टाउको र पेटमा गोली लागेको अवस्थामा फेला परेको हो । बकैया–नागमणि सामुदायिक वन उपभोक्ता समूहअन्तर्गतको वन क्षेत्रमा शुक्रबार बिहान स्थानीयले मृत हरिण देखेपछि वन कार्यालयलाई जानकारी गराएका थिए ।
घटनास्थलको प्रारम्भिक निरीक्षणका क्रममा गोली लागेको भागको प्रकृति हेर्दा भरुवा बन्दुक प्रयोग गरिएको हुन सक्ने वन सुरक्षाकर्मीले अनुमान गरेका छन् ।
मृत हरिण द्रुतमार्ग सुरक्षार्थ तैनाथ नेपाली सेनाको ब्यारेकबाट करिब ३०० मिटर उत्तर–पश्चिमतर्फ निर्माणाधीन द्रुतमार्ग नजिक फेला परेको हो। गोली लागेपछि हरिण भाग्दै उक्त स्थानसम्म पुगेको हुन सक्ने अनुमान गरिएको छ ।
घटनास्थल आसपास सामुदायिक वन क्षेत्रसँगै पर्सा राष्ट्रिय निकुञ्जको प्रभाव क्षेत्रसमेत पर्ने भएकाले वन्यजन्तुमाथि भएको गोली प्रहारलाई गम्भीर घटनाका रूपमा लिइएको वन्यजन्तु संरक्षणकर्मीहरूले बताएका छन् ।
घटनास्थलमा डिभिजन वन कार्यालय, सामुदायिक वन, पर्सा राष्ट्रिय निकुञ्ज तथा सुरक्षा निकायका प्रतिनिधिहरू पुगेर आवश्यक निरीक्षण गरेका थिए । कानुनी प्रक्रिया पूरा गरी मृत हरिणलाई डिभिजन वन कार्यालय बाराको परिसरमा गाडिएको कार्यालयले जनाएको छ ।
डिभिजन वन कार्यालय बाराले घटनामा संलग्न व्यक्तिको पहिचान गरी कानुनी कारबाहीका लागि थप अनुसन्धान भइरहेको जनाएको छ ।