जनकपुरधाम । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनाको विरोधमा सोमबार जनकपुरधाममा प्रदर्शन गरिएको छ । प्रदर्शनका क्रममा आक्रोशित प्रदर्शनकारीहरूले प्रधानमन्त्री बालेन शाह र उनका राजनीतिक सल्लाहकार असिम शाहको तस्वीर दहन गरेका छन् ।
जनकपुरधामस्थित रामानन्द चोकमा भेला भएका प्रदर्शनकारीहरूले प्रधानमन्त्री शाह र उनका राजनीतिक सल्लाहकार असिम शाहविरुद्ध नाराबाजी गर्दै सरकारको चर्को आलोचना गरेका थिए । प्रदर्शनका क्रममा उनीहरूले दुवैको तस्वीर दहन गर्दै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारबाहीको माग गरेका हुन् ।
प्रदर्शनकारीहरूले सुनसरीको घटनाका लागि सरकार जिम्मेवार रहेको आरोप लगाउँदै पीडित परिवारलाई न्याय दिलाउन र यस्ता घटना पुनः दोहोरिन नदिन सरकार गम्भीर बन्नुपर्ने बताएका छन् ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु भएको थियो भने नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी र सर्वसाधारणसहित दुई दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन् ।
घटनापछि सरकारले छानबिन समिति गठन गर्नुका साथै प्रभावित क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । सुरक्षा व्यवस्था कडा पारिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।